नीरज पिठाकोटे
सोमवार, बैशाख ३, २०७५
436

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देशको आर्थिक समृद्धिका लागि आपसमा सहकार्य गरेर जानुपर्ने बताएका छन् । वीरगन्जको आवाज एफएमको दोस्रो वार्षिकोत्सवको उद्धघाटन गर्दै मन्त्री महासेठले मधेसमा जति विकास भएका छन् ती सबै वामपन्थी सरकारले गरेको दाबी गर्दै उनले नारा दिएरमात्रै मधेस र देशको विकास नहुने बताए । उनले भने, “नाराले मात्रै विकास हुँदैन, इच्छाशक्ति भयो भने मात्रै विकास गर्न सक्छौं ।” सक्दै नसक्ने कुरा जनतालाई आश्वासन दिन नहुने भन्दै उनले वीरगन्जमा निर्माण भइरहेको भौतिक पूर्वाधारका योजनाको अध्ययन गरेर एक साताभित्र जानकारी गराउने आश्वासन दिए ।
राज्यले वीरगन्जलाई कहिल्यै पूर्वाग्रही दृष्टिकोणले नहेरेको बताउदै मन्त्री महासेठले एकीकृत भन्सार जाँचचौकीमा निर्माण हुन बाँकी सात सय मिटरको सडकको मुआब्जाको रकम निकासा भइसकेको र त्यसलाई एक महिनाभित्र गाडी आउने जाने गरी व्यवस्थित हुने गरी निर्माण गर्न विभागलाई निर्देशन दिएको जानकारी दिए । भन्सार प्रमुखहरूले पनि आपूmलाई निर्माणमा दबाब दिइरहेको जानकारी दिँदै उनले प्रतिदिन करोडौं घाटा भइरहेकाले छिटोभन्दा छिटो निर्माण गर्न निर्देशन दिए । देशका विभिन्न स्थानको सडकको अवस्थाको बारेमा जानकारी लिनकै लागि आपूm हवाईमार्गबाट नभई स्थलमार्गबाट आउनेजाने गरेको बताउँदै उनले गण्डक र घण्टाघरसम्मको डिजाइनका बारेमा सम्बन्धित कार्यालयका प्रमुख र प्राविधिकहरूलाई हेर्न पठाएर जानकारी लिने जानकारी दिए ।
वीरगन्ज रक्सोलको मितेरी पुल व्यापारिक दृष्टिकोणले निर्माण गरिएको भन्दै त्यसलाई पर्यटकीय दृष्टिकोणले थप मर्मतको आवश्यकता रहेको बताए । त्यसको बारेमा आपूmले अध्ययन गरेर पहल गर्ने बताए । उनले भने, “विकासको लागि विनास गर्नु भएन, तर विनास नगरी विकास पनि नहुने भएकाले कति विकास गर्दा कति विनास हुन्छ त्यो पनि हेरेर मर्मत गर्नुपर्ने उनको भनाइ छ ।” कार्यक्रममा पूर्वसांसद विचारी यादवले वीरगन्जको घण्टाघरदेखि गण्डकसम्मको मात्रै कुरा उठाएको भन्दै भन्सारसम्मकै सडक विस्तार गर्नुपर्नेमा जोड दिए । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, उपाध्यक्ष सुवोध गुप्तालगायतले वीरगन्जको भौतिक संरचनाको विकासमा केन्द्र सरकारले गम्भीर हुनुपर्ने बताए ।