दिलबहादुर केसी
शुक्रवार, श्रावण १६, २०७७
825

दोलखा-बागमती प्रदेश सरकारले आफ्नो मन्त्रालय अन्तर्गतका सेवा दिनका लागि हरेक जिल्लामा कार्यालय राख्ने भएको छ । प्रदेश सरकारका कार्यालयहरु विभिन्न जिल्लामा छरिएर राख्दा जनताले सास्ती भोग्नुपरेको गुनासो बढेपछि चालू आर्थिक वर्षको सुरुदेखि नै कार्यालय राख्न लागेको हो ।
प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत रहेका कार्यालयको कामका लागि एक जिल्लाबाट अर्को जिल्लामा कुनै पनि नागरिक पुग्न नपरोस् भन्ने उद्देश्यले कानुनमै व्यवस्था गरेर कार्यालय खोल्न लागेको बागमती प्रदेश सभाको सुशासन तथा व्यवस्थापन ऐन २०७७ को मस्यौदा अध्ययन समितिका सदस्य समेत रहेका सांसद विशाल खड्काले जानकारी दिए । सरकारले आउँदो भदौभित्रै एकीकृत समन्वय कार्यालय खोल्ने जानकारी दिए ।

‘प्रदेशभित्र ११ वटा यस्ता कार्यालय खुल्छन्, त्यसमध्ये उपत्यकाको तीन जिल्लामा एउटा हुन्छ,’ उनले भने, ‘उपत्यका बाहिरका हरेक जिल्लामा एउटा एउटा कार्यालय हुन्छ ।’ सबै मन्त्रालय अन्तर्गतका कार्यालय रहने भए पनि सबैको समन्वयका लागि सहसचिव स्तरको प्रमुख रहने उनले जानकारी दिए ।
यी कार्यालय खुलेपछि अब प्रदेश सरकारका योजनाका कामका लागि अन्य जिल्लामा कार्यालय खोज्दै हिँड्नुपर्ने र प्रदेश राजधानी हेटौंडा नै धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास गरे । ऐन सदनबाटै पास भै सकेकाले अब कार्यान्वयनमा सरकारलाई कुनै समस्या नभएको उनले बताए ।
राज्य पुनर्संरचनापछि विगतका सबै जिल्लाका कार्यालय खारेज भएका छन् । कृषि, स्वास्थ्य, वन, सिंचाइ, सडक खानेपानी जस्ता कार्यालय स्थानीय तहमै समायोजन हुने भन्ने विश्वास गरे तापनि प्रदेश अन्र्तगतका कार्यालय विभिन्न जिल्लामा फैलिएर बस्दा झन सास्ती थपेको थियो ।
यस्ता कार्यालय विगतमा मन्त्रालय अन्तर्गत निर्देशनालयको नियन्त्रण हुन्थ्यो । अब यी सबै जिल्लामा आउन लागेका हुन् । संघीयतापछि सबै सेवा गाउँ गाउँ पुग्ने कल्पना गरेकाहरुले प्रदेश कार्यालय छरिँदा हेटौंडा र विभिन्न जिल्ला भौँतारिनु पर्दा जनप्रतिनिधि र नागरिक सबैले सास्ती भोग्नु परेको बागमती प्रदेश गाउँपालिका महासंघका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरुलाई जनगुनासो आएपछि गाउँपालिका महासंघले नै प्रदेशका कार्यालय निश्चित मापदण्ड बनाएर जिल्ला सदरमुकाममै राख्नु सुझाव दिएको उनले बताए । यसरी कार्यालय राख्दा जनताले पनि दुःख नपाउने र सदरमुकामको पनि चहलपहल जारी रहने उनले बताए ।
प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र, युवा तथा खेलकुद, वन पर्यटन, सहकारी, भौतिक पूर्वाधार, सिंचाइ, खानेपानी, भेटेनरी भू संरक्षण जस्ता कार्यालयमा बढी काम हुन्छन् । यी सबै कामका लागि हरेक जिल्लाबाट बाहिर नै जानु पर्छ । कतिपय ठाउँमा त काम समेत जुधेका छन् ।