प्रगति ढकाल
मंगलबार, असार ३०, २०७७
517

नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने जोखिममा रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले हिमताल उच्च जोखिमका रहेको देखाएको हो ।
इसिमोड र यूएनडीपीको ‘इन्भेन्टरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनमा ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यीमध्ये २५ वटा चीनमा, २१ नेपालमा र एउटा भारतमा पर्छ ।

यूएनडीपीका जलवायुजन्य जोखिम व्यवस्थापनका वरिष्ठ कार्यक्रम अधिकृत दीपक के.सी ले चीन र भारतमा रहेको हिमताल फुट्दा पनि नेपालको अर्थतन्त्रमा ठूलो ह्रास हुने बताएका छन् । “यो समयमा हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले वार्षातको बेलामा हिमतालहरु फुट्नसक्ने बढी सम्भावना हुन्छ,” उनले भने, “नेपाल भारत र चीनका ४७ हिमताल उच्च जोखिममा छन्, हामीले अध्ययन गरिसकेका छौं, प्रतिवेदन सार्वजनिक हुने क्रममा छ, यदि यी हिमतालहरु फुटे भने नेपालले खर्बौंको आर्थिक नोक्सानी बेहोर्नुपर्ने छ ।” अध्ययन प्रतिवेदन अनुसार ४७ ओटा हिमताल फुट्दा नेपाललाई करिब अर्ब डलरभन्दा बढी आर्थिक क्षति हुने छ ।
अध्ययनअनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ३ हजार ६२४ हिमताल छन् । यीमध्ये दुई हजार ७० वटा नेपालमा, १ हजार ५०९ चीनमा र ४५ वटा भारतमा पर्छन् । प्रतिवेदनअनुसार हिमतालहरूको बाँधको रुपमा रहेको पहाडको विशेषता, पानीको स्रोत, तालको फैलावट परिवर्तन र आसपासको भू–बनोट आदि विश्लेषण गरे जोखिमयुक्त हिमताल पहिचान गरिएको हो ।
केसीका अनुसार खतरा हुनसक्ने भनेका हिमतालहरूमध्ये ४२ वटा कोशी, तीनवटा गण्डकी र दुईवटा कर्णाली (कालीरमहाकाली) जलाधार क्षेत्रमा छन् । कदाचित्, तीमध्ये कुनै हिमताल फुटे सम्बन्धित नदीको तल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजना, सडक, पुल, वस्तीहरु विनाश हुन्छ । निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका साढे छ हजार मेगावाटका ४६ वटा जलविद्युत् आयोजना यी जलाधार क्षेत्रमा छन् ।
९०० मेगावाटको अरुण–३, तामाकोशी–३, टिए–३, ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ लगायतका जलविद्युत् आयोजनाहरु हिमनदीमा आधारित छन् ।
जलवायु परिवर्तनविद् बटुकृष्ण जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै हिमताल फुट्ने जोखिम पनि बढ्ने बताए । “तामक्रम बढे पछि हिमालका हिउँ पग्लन्छ, वर्षायामको पानी पनि तालमा जममा हुन्छ, पानीको मात्रा बढी भएपछि हिमतालहरु फुट्न सक्ने जोखिम हुन्छ,” उनले भने, “हिमताल फुट्यो भने धनजनको क्षति हुन्छ, यसकारण सरकारले समयमा नै विपत्सम्बन्धी पूर्वसूचनालाई व्यवस्थित गर्नुपर्छ, पूर्वसूचना दिँदा धनजनको कम क्षति हुन सक्छ ।” उनका अनुसार जोखिम रहेका हिमतालहरुको पानी घटाएर विपतको क्षति कम हुन सक्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार इम्जाको विस्फोटन खतरा न्यूनीकरणका लागि तीन मिटर पानी घटाइएको थियो । ३२ करोडको लागतमा इम्जा हिमतालको पानीको सतह घटाइएको थियो । इम्जा ताल क्षेत्रमा गेट निर्माण, क्यानल निर्माण र क्यानल खोलेर पानी घटाइएको थियो । जलवायु परिवर्तनविद्हरुले अन्य जोखिम भएका हिमतालको पानी घटाउन सुझाव दिएका छन् ।