अमरराज आचार्य
सोमवार, असार २९, २०७७
448

दाङ-जिल्लाको देउखुरी क्षेत्रमा आइतबार फेरि सलह प्रवेश गरेको छ । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रो पटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भएका छन् । भर्खरै रोपिएको धानमा क्षति पु-याउने होकि भन्ने चिन्ता उनीहरुमा रहेको छ । भित्र्याउने बेला भएको मकै, तथा तरकारी बालीमा समेत क्षति पु-याउने चिन्तामा कृषकहरु रहेका छन् । आइतबार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकामा दिउँसो सलह देखा परेको उनको भनाइ छ । “बसेको खबर आएको छ के कति क्षति गरेको भन्ने तथ्यांक संकलन गर्ने काम भइ रहेको छ ।” प्रमुख अधिकारीले भने ।
गाउँपालिकाको अधिकाश स्थानमा बसेको स्थानीयहरुले आफूहरुलाई जानकारी गराएको उनले बताए । राप्ती गाउँपालिकाबाट उतर तथा पूर्वतिर लागेको उनले बताए । जिल्लाको दक्षिणतर्फ सिमाना भारतबाट सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । उनले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा सलह बसेको जानकारी आएको बताए । “सलहले के कति क्षति गरेको त्यसका बारेमा जानकारी लिने काम भइ रहेको छ ।” प्रमुख धितालले भने । बसेको सलह पूर्व र उत्तरतर्फ लागको उनले बताए

यसअघि स्थानीयको सक्रियताले सलहले बालीमा धेरै क्षति हुनबाट जोगिएको थियो । सलहबाट बाली जोगाउन स्थानीयहरुले उत्सापूर्ण पूर्णरुपमा काम गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सहलबाट बाली जोगाउन स्थानीयले मकै बाली तथा धानको व्याड राखेको स्थानमा धुवाँ बनाउने, भाँडा बजाएर ध्वनी निकाल्ने, सलह समाउने जस्ता कार्य गरेका थिए । बजार क्षेत्रबाट मानिसहरु सलह समाउन गाउँ गाउँसम्म पुगेका थिए । यसरी समाएर ल्याएको सलह भुटेर समेत खाएका थिए । यसअघि आएको सलह जिल्लामा ५ सय ९० हेक्टरमा सलह बसेको प्रमुख धितालले बताए । घोराही, शान्तिनगर, तुल्सीपुर तथा देउखुरी क्षेत्रमा सहल बसेको ज्ञान केन्द्रले जनाएको छ । धेरै सलह मकै मा बसेको पाइएको उनको भनाइ रहेको छ । त्यसै गरेर तरकारी बाली, फलफूल, धानमा समेत बसेको स्थानीयहरुले जानकारी दिएको ज्ञान केन्द्रले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहहरुलाई परिपत्र पठाइ सलह किरा व्यवस्थापन गर्ने भनेको थियो । तर, जिल्लाका स्थानीय तहहरुमा त्यस अनुसार तयारी भने देखिएको छैन । मन्त्रालयले सलह फोकल विन्दु तोकी केन्द्र तथा प्रदेशमा जानकारी गराउन, स्थानीय तहमा रहेका कृषि शाखाहरुमार्फत कृषकहरुलाई जानकारी गराउन भनेको छ ।