कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
969

मुगु-कोरोनाभाइरस नियन्त्रणका लागि साढे तीन महिनादेखि देशैभर लकडाउन गरिँदा देशका विभिन्न स्थानमा पाइने उच्च मूल्यको जडिबुटी कुहिने अवस्थामा पुगेको छ । मुगु जिल्लाको हिमाली क्षेत्र (पाटन)मा पाइने करोडौं मूल्यको जडिबुटी यार्सागुम्बा पनि कुहिएर खेर गएको छ ।
मुगुमकार्मारोग गाउँपालिकाका सानाकोखी, ठूलाकोखी, रिमाड, टाके, हङ्गादङ खोलालगायत दर्जनौ  हिमाल तथा पाटनहरूमा जेठ, असार, महिनामा पाइने बहुमूल्य जडिबुटी सोही पाटनहरूमा कुहिएका छन् । देश पूर्णरूपमा लकडाउन भएको बेला मुगु जिल्लाको मुगमकामारोङ गाउँपालिकाले आफ्नो हिमालमा पाटन क्षेत्रमा पाइने वहुमूल्य यार्सागुम्बा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यार्सा संकलनमा रोक लगाउँदा यो वर्षामा पाइने करोडौं मूल्यको यार्सागुम्बा पाटनमा नै कुहिएको मुगमकामारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताएका छन् ।
शाहका अनुसार विगतका वर्षहरूमा यार्सागुम्बा संकलकहरूको प्रवेश शुल्कबाट गाउँपालिकाको राजस्व मुख्य स्रोत हुन्थ्यो । गत वर्ष १ करोड राजस्व उठेको थियो, यो वर्ष महामारी कोरोनाको कारण यार्सागुम्बा संकलनका लागि रोक लगाउँदा यार्साबाट उठ्ने राजस्व शून्य भएको उनले बताए ।

स्थानीयवासीको रोजिरोटी गुम्यो
बहुमूल्य जडिबुटी यार्सा संकलन गरी विगतका वर्षहरूबाट जीवन निर्वाह गरिरहेका मुगालीहरू यस वर्ष भने बिहान बेलुका के खाऊँ भन्ने चिन्तामा पिरोलिएका छन् । नोबेल कोरोनाभाइरस अर्थात् कोभिड–१९ ले गर्दा विश्व नै आक्रान्त भएको अवस्थामा यस गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाउँदा हामी मुगालीहरूको रोजिरोटी गर्न गाह्रो परेको मुगुमकार्मारोङ्ग गाउँपालिका–२ का स्थानीय कार्मा लामाले बताए । उनका अनुसार विगतका वर्षहरूमा विकासका योजनाहरू न्यून भएको र आफ्नो गाउँदेखि बाहिरी जिल्लामा गएर व्यापार व्यवसाय गर्न पनि नमिल्ने भएको हुँदा रोगले भन्दा भोगले ज्यान जाने ठूलो चिन्ता लागेको लामाले जानकारी दिए ।
यसैबीच, कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने अर्गाानिक कृषि बालीनालिहरू पनि उत्पादनमा कमी हुने जिल्ला हो । यस हिमाली जिल्लाको मुख्य आम्दानीको स्रोत नै कृषि जडिबुटी हो । कोभिड–१९ ले गर्दा कर्णालीका हिमाली जिल्लामा पाइने यार्सागुम्बालगायत अन्य जडिबुटी संकलनमा विगतका वर्षहरूभन्दा पनि यो वर्ष कम भएको हुँदा जिल्लामा पनि राजस्व न्यून उठेको डिभिजन वन कार्याल मुगुका वन अधिकृत भरतबहादुर बुढ्थापाले जानकारी गराए ।

 

दानबहादुर बुढा