कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
601

लमजुङ- व्यवसायीहरुको छाता सँंगठन लमजुङ उद्योग बाणिज्य संघले लकडाउनका बेला घराभाडा छुट दिने जिल्लाका घरवेटीहरुलाई सम्मान गरेको छ । जिल्लामा विभिन्न पेशा व्यवसाय गर्दै आएका संघमा आवद्ध व्यवसायीहरुलाई घरभाडा छुट दिने घरबेटीहरुलाई प्रसंशा पत्र सहित सम्मान गरेको हो ।
कोरोना भाईरस संक्रमण सँगै जारी लकडाउनका कारण व्यपार व्यवसाय ठप्प भएपछि मारमा परेका व्यवसायीहरुसँग निश्चित अवधीका लागि घरभाडा विशेष छुट दिने घरबेटीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । अध्यक्ष थापाले हालसम्म जानकारीमा आएकाहरुलाई सम्मान गरिएको र अझै सम्मानको क्रम जारी रहेको बताए ।

“अहिले व्यवसायीहरु सारै पिडित अवस्थामा छन्,” अध्यक्ष थापाले भने, “एकातिर बैकले सताईरहेको छ, अर्को तिर जहान परिवार पाल्नुपर्ने बाध्यता छ, यहि अवस्थामा घरभाडा छुट पाउँदा व्यवसायीहरुलाई ठूलो राहात मिलेको छ ।” संक्रमणकालिन अवस्थामा अझै धेरै घरवेटीलाई घरभाडा छुट गर्ने उत्प्रेरणा मिलोस भन्नको लागि सँस्थाको तर्फबाट सम्मान गएिको अध्यक्ष थापाको भनाई छ ।
सम्मानित हुनेहरुमा बेसीशहरका शिव सिलवाल, गुणराज सिलवाल, कृपाराम श्रेष्ठ, पार्वती श्रेष्ठ, रामकुमार श्रेष्ठ र मोहन बोहोरा रहेका छन् ।