कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
366

स्याङ्जा-सुन्तला उत्पादनमा अब्बल मानिने स्याङ्जा जिल्लामा सुन्तलाका विरुवाको अभाव भएको छ । सुन्तला सुपरजोनअन्र्तगतका सुन्तला लगाउन इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउँदा माग बढी भएपछि विरुवा अभाव भएको हो ।
गत वर्षको तुलनामा चालू वर्ष सुन्तला रोप्ने किसानको संख्या वृद्धि भएपछि ५० प्रतिशत अनुदानमा दिँदा सुन्तलाका विरुवा अभाव भएको सुन्तला सुरपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्यालले बताए । “सुन्तला खेतीबाट आर्थिकोपार्जनको राम्रो माध्याम भएको र कोरोनाका कारण युवा शक्ति जिल्ला भित्रिएकाले बाँझो जमिनमा सुन्तलाका विरुवा लगाउने होड नै चलेको छ” अध्यक्ष अर्यालले भने, “९० हजार विरुवा माग थियो तर, ४५ हजार मात्रै उपलब्ध गराउन सकियो ।”

सुपरजोनअन्तर्गतका ४ वटा हरित जालिभित्र सुन्तलाका विरुवा उत्पादन गरिएको छ । पुतलीबजारस्थित देवी नर्सरी, भीरकोटस्थित बिन्ध्यवासिनी अर्गानिक भिलेज र शान्ति फलफूल नर्सरी र वालिङस्थित सुन्तला हाइटेक नर्सरीमा गरी झण्डै २६ हजार कलमी र ९ हजार बिजु विरुवा उत्पादन गरिएको थियो ।
जिल्लामा अपुग भएपछि धनकुटाबाट २ हजार कलमी र ८ हजार बिजु विरुवा ल्याएर ४५ हजार विरुवा कृषकलाई उपलब्ध गराइएको सचिव मुक्ति अधिकारीले जानकारी दिए । सुन्तलाका लागि उपयुक्त हावापानी भएकाले जिल्लाका बढी उत्पादक क्षेत्र समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना सञ्चालनमा ल्याएको हो । जिल्लाका पुतलीबजारका ८ वडा, भिरकोटका ६ वडा, वालिङको एउटा वडा र अर्जुनचौपारी गाउँपालिकाको २ वडामा कार्यक्रम सञ्चालनमा छन् ।
जिल्लालाई विशेष गरी सुन्तलाबाटै समृद्ध बनाउने लक्ष्यसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन घोषणा गरिएको हो । आर्थिक वर्ष २०७३-०७४ मा जोन कार्यान्वयन एकाइ घोषणा गरे पनि पछिल्लो वर्ष २०७५-०७६ मा पुनः सुपरजोन घोषणा भई सुन्तला रोप्ने कामलाई अघि बढाइएको छ ।
सुन्तला सुपरजोनअन्तर्गतका क्षेत्रबाट गत वर्ष २६ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुपरजोनअन्तर्गत गत वर्ष १३ सय ५० हेक्टरमा सुन्तला खेती गरिएको थियो भने चालू वर्षमा १ सय ५० हेक्टरमा सुन्तला रोपिएको थियो । १ सय ७१ समूह, सहकारी र उद्यमी गरी ३ हजार ५ सय सुन्तला उत्पादक कृषक सुपरजोनमा आवद्ध छन् ।
सुन्तला सुपरजोन परियोजनामा समावेश नभएका स्याङजाका प्रायजसो पालिकामा सुन्तला उत्पादन राम्रो छ । ९७ वडा रहेको जिल्लामा ८-९ वटा वडा बाहेक अधिकाशंमा सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएकाले सुन्तलालाई स्थानीयले प्राथमिकतामा राख्ने गरेका छन् । गत वर्ष मात्रै जिल्लाबाट ३८ करोड भन्दा बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो ।

प्रकाश डोटेल