सागर परियार
सोमवार, असार २२, २०७७
408

जुम्लामा सांसद विकास कोषको चार करोड बजेट स्याउ बगैंचा व्यवस्थापनका लागि खर्च गरिने भएको छ । जुम्लामा स्याउखेती विस्तार गर्न, स्याउबाटै जुम्लाको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षको सांसद विकास पूर्वाधार कोषको ४ करोड बजेट स्याउ बगैंचा, ओखर बगैंचा व्यवस्थापनमै लगानी गरिने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए ।
उनले भने, “जुम्लाका १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्, जुम्लाको कुल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर छ । त्यसको तीन हजार सात सय हेक्टर जमिनमा स्याउ खेतीमध्ये एक हजार चार सय ४७ हेक्टर जमिनमा मात्रै स्याउ फल्ने सरकारी तथ्यांक छ ।” यो तथ्यांकलाई हेर्दा अझै ३ हजार घरधुरी स्याउ खेतीबाट वञ्चित छन् ।

उनीहरूलाई स्याउखेतीको पहुँचमा ल्याउन तथा सबै क्षेत्रफलमा स्याउ विस्तार गर्न सांसद विकास कोष ४ करोड बजेट लगानी गर्ने योजना अघि सारेको सांसद महतले बताए ।
यसअघि जुम्लामा दिइएका टुक्रे योजनाले खासै परिवर्तन नदेखिएको कृषिमा त झनै कुनै प्रभाव नपरेकाले ‘नमुना स्याउ तथा ओखरको बगैंचा’ वयवस्थापनमा एक वर्षको सांसद विकास पूर्वाधारको बजेट प्रयोग लक्ष्य राखिएको महतको भनाइ छ । गृह जिल्ला जुम्ला पुगेका सांसद महतले बगैंचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकारसँगको समन्वयपछि बृहत बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपंक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञसँग राय सल्लाह मागेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन कार्यालय, कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरूको सहभागितामा भएको बृहत् छलफलले चक्लाबन्दी बगैंचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन ? नमुना बगैंचा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अभिमुखिकरण सम्पन्न भएको छ ।

तातोपानी क्षेत्र एप्पल जोन
जिल्लाको तातोपानी गाउँपालिकाको गौतम बाडादेखि डाँगीवाडासम्मको जमिनलाई घेरबार, सिँचाइदेखि संरक्षण गरी नमुना उत्पादन क्षेत्र बनाइने भएको छ । आगामी आर्थिक वर्षमा सांसद विकास कोषको चार करोड लगानीमा तातोपानी क्षेत्रलाई प्राथमिकता दिँदै स्याउ बगैंचा व्यवस्थापन गरिने छ । जुम्लामा थुप्रै परिवर्तन भएका छन् । कृषि सबैको प्राथमिकतामा पर्छ । तर बजेट र नीतिमा सम्बोधन भएको पाइँदैन ।
कृषि उत्पादनबिना समृद्धि असम्भव भएकाले जिल्लाकै नमुनाको रुपमा स्याउको बगैंचा व्यवस्थापनमा लगानी बढाउनुको विकल्प नरहेको विज्ञहरूको भनाइ छ । कृषिमा लगानी गर्ने सांसद महतको बृहत् प्याकेज कार्यक्रम राम्रो र जिल्लाकै उत्पादनका लागि नमुना रहेको समेत कृषि विज्ञहरूले सुझाव दिएका छन् ।
तातोपानी क्षेत्रमा स्याउ उत्पादनका लागि जगा पर्याप्त रहेको सांसद विकास कोष लगानीसँग समन्वय गरी तातोपानी गाउँपालिकाले पनि स्याउखेतीका लागि आवश्यक लगानी गर्ने अध्यक्ष नवराज न्यौपानेले बताए । “कृषिमा १ करोड बजेट विनियोजन गरेका छौं, स्याउखेती लगायतका व्यावसायिक कृषिलाई पहिलो प्राथमिकता दिइने लक्ष्य रहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।