कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
506

स्याङ्जा-वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा कृषकलाई ह्याचरी मेसिन उपलब्ध गराएको छ । तीन वटा फर्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै कुखुरा ब्यवसायीको मागलाई ध्यानमा रखेर ५० प्रतिशत अनुदानमा ३ वटा फर्म तथा सहकारीलाई मेसिन उपलब्ध गराइएको नगर प्रमुख खाँणले जानकारी दिए ।

कुखरा पालनलाई व्यवसायिकरुपमा अगाडि बढाउने उद्देश्यले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराइएको नगर प्रमुख खाँडले बताए । उनले भने, “प्राप्त सामानको सही सदुपयोग गरी अगाडि बढ्नुहोस् ।”
पशु सेवा शाखाको वार्षिक कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ह्याचरी मेसिन वितरण गरिएको पशु विकास शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताइन् । ह्याचरी मेसिनको अभावका कारण अण्डा लिएर पाल्पा जानुपर्ने र उताबाट चल्ला निकालेर ल्याउनुपर्ने बाध्यता हटेर जाने विश्वास शाखा प्रमुख श्रेष्ठको छ ।
मेसिनले २२ दिनमा कुखुरा, बट्टाई, लौकाट, कालिजलगायतका पंक्षीका अण्डाबाट चल्ला निकाल्न सकिनेछ । ३ वटा फरक फरक क्षमताका मेसिनले २२ दिनको अवधिमा एक हजार ५६, ३ सय ५२ र २ सय ६४ चल्ला निकाल्न सक्नेछ ।
पशु विकास शाखामार्फत वालिङ ६ का गोविन्दजसन पंक्षी फार्म, वालिङ ३ मा रहेको महिला सहकारी र वडा नं. १४ को कृषि सहकारी संस्थाबाट माग भएबमोजिम अनुगमन गरी मेसिन वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताइन् ।