कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
525

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले टर्किबाट खरिद गरेर किसानलाई वितरण गरेको ओखरका विरुवा किसानको पाखो बारीमा फस्टाउन थालेका छन् । नगरपालिकाको अनुदानमा प्राप्त भएका विभिन्न जातिका ओखरका विरुवा यतिबेला किसानको पाखो जमिनमा फस्टाउन थालेका हुन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले अनुदानमा वितरण गरेको ओखरका विरुवाले नगरपालिका भित्र रहेका किसानका बाँझो जमिन यतिबेला ओखरका विरुवाले भरिभराउ देखिएको छ ।
किसानको माग अनुरुप नगरपालिकाले टर्कीबाट ४४ हजार ओखरका विरुवाहरु खरिद गरेर किसानलाई वितरण गरेपछि नगरपालिका भित्रका बाँझो जमिन अहिले ओखरका बेर्नाले भरिएका हो । टर्कीबाट ल्याइएका च्याटलर, फर्लरलगायत अन्य जातका ओखरका बेर्नाहरु फस्टाउन थालेपछि किसानलाई हौसला समेत मिलेको स्थानीय किसान शिवबहादुर शाहीले बताए । नगरपालिकाले तीन महिनाअघि टर्कीबाट ओखरका विरुवा खरिद गरेर यहाँका विभिन्न वडाका किसानलाई वितरण गरेको थियो । टर्कीबाट ल्याइएका ओखरका विरुवाहरु नगरपालिकासम्म आइपुग्दा एक बेर्ना बराबर ३ सय ७० रुपैयाँ खर्च भएको नगरप्रमुख गोर्खबहादुर केसीको भनाई छ ।
उनका अनुसार एक बेर्नाका लागि प्रतिकिसानबाट ५० रुपैयाँ उठाइएको र अरु सबै नगरपालिकाको अनुदान रहेको छ । यसपटक नगरपालिका भित्रका किसानले ६४ हजार ओखरका विरुवा माग गरेका थिए । तर, लकडाउनका कारण ४४ हजार ओखरका विरुवा खरिद गरिएको र बाँकी २० हजार बेर्ना खरिद गर्न नसकिएको नगरपालिकाले बताएको छ । यहाँको नगरपालिकाले बाँझो जमिनको सदुपयोग गर्न र किसानको आम्दानी वृद्धिका लागि आगामी वर्षमा थप ओखरका विरुवा लगाउने लक्ष्य लिएको छ ।