सागर परियार
मंगलबार, असार १६, २०७७
474

जुम्ला-तिला गाउँपालिका २ का वडाध्यक्ष कलीबहादुर रावत हरेक दिन बिहानै च्याउ बिक्री गर्न नजिकैको डुंगेली बजारमा निस्किन्छन् । एका बिहानै हातमा दुईवटा बाल्टीनमा भरी च्याउ लिएर नजिकैको बजारमा बिक्री गर्नु उनको दैनिकी नै हो । साँझ र विहानको समय च्याउखेतीमै व्यस्त देखिने उनी दिउँसो जनताको काममा समर्पित हुन्छन् । 

कोरोना भाइरसका कारण खाद्य संकट बढ्दै गएपछि प्रदेश सरकारदेखि स्थानीय सरकार कृषिमा जुटेका छन् । वडाध्यक्ष रावतले भने, “बाँझो जग्गाा राख्न नपाउने नीति लिएका छौ । हामी कृषिका नीति बनाउँछौ । तर आफैबाट शुरुवात गर्दा सबैलाई उत्प्ररेणा मिल्छ भन्ने सोचले च्याउखेती शुरुवात गरेको हुँ । आगामी आवको नीति तथा कार्यक्रम कृषिलाई प्रथामिकता दिएका छौँ । १ करोड बजेट कृषिमै विनियोजन गरेका छौँ ।” अनुदान देखि कृषिमा यान्त्रीकरण गर्ने नीतिले युवालाई प्रोत्साहन गर्ने उनको विश्वास छ ।
लकडाउनकै बीचमा शुरुवात गरिएको च्याउखेती अहिले व्यावसायिक रुपमा अघि बढेको छ । स्थानीय किसान हेर्नका लागि पनि दैनिक आउने गरेका छन् । एक डेढ हप्ताकै अवधिमा ३० केजी च्याउ बेचेको वडाध्यक्ष रावत बताउँछन् । घरमा २८ वटा च्याउका बल्व बनाएका छन् । २८ बल्वबाट एक क्वीन्टल च्याउ बेच्ने लक्ष्य उनको छ । च्याउ प्रतिकेजी ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । यहाँको रारा सीतानगर, डुंडेली,त्रिबेणी र कुडारी बजारमा च्याउ बेच्न जाने गरेका छन् ।
“च्याउखेतिमा दुःख धेरै छ । तर मूल्य पनि धेरै छ । उत्पादित च्याउ बेच्दा हुने आम्दानीले सबै दुःख हराउने गरेको छ । वडाध्यक्ष हुँदैमा आयआर्जन गर्न सकिने अवस्था छैन,” उनले थपे, “आयआर्जन त कृषि क्षेत्रमा संलग्न भएपछि मात्र गर्न सकिन्छ, अब रहेक जनप्रतिनिधिले राजनीतिलाई कृषिसँग जोड्न जरुरी छ ।” जनतामुखी राजनीति गर्नका लागि आफ्नो आयआर्जन हुनै र्छ । हाल च्याउ खेतीबाट पाँच जनाको परिवारलाई पाल्न सफल भएको समेत उनले उल्लेख गरे ।

कार्यकालपछि व्यावसायिक कृषिमा जुट्छु
अहिले आधी समय जनताको सेवा र आधी समय च्याउखेतीमा वितेको छ । सानो झगडा पर्दादेखि मुद्धा मालिला घर झगडा मिलाउन जनताकै घरमा पुग्छन् । तर कार्यकाल सकिएपछि व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउने वडाध्यक्ष रावतको अठोट छ । यो च्याउ कात्तिक महिना सम्म उत्पादन गर्न सकिने उनी बताउँछन् ।
वडाध्यक्ष रावत भन्छन्, “जनप्रतिनिधि भइँदैमा घरपरिवारको लालनपालन गर्न सकिने अवस्था रहँदैन । घरपरिवारको रोजिरोटीको लागि त ब्यावसायीक रुपमा कृषि खेति गर्न जरुरी छ । धेरै जनप्रतिनिधि कृषि कार्य गर्न लजाउँछन् । कृषितिर लाग्दा अपमानित महसुस गर्छन् । माटोसँग रमाउनु त सौभाग्य हो । खेतबारीमा किसानी कार्य गर्नु कुनै नराम्रो कार्य नभई सम्मानित कार्य हो । आगामी दिनमा खेतिबारी संग घुलमिल नहुने ब्यक्तिलाई राजनीतिमा निषेध गर्ने नीति ल्याउन समेत आबश्यक रहेको छ ।”