कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
280

सुर्खेत- कर्णाली प्रदेशमा धान रोपाइ ३९ प्रतिशत सम्पन्न भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यस वर्ष समयमै मनसुन सुरु भएको बेलामा पनि कर्णालीमा ३९ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । कर्णालीको धान उत्पादन हुने जम्मा ४९ हजार ४ सय २५ हेक्टर मध्ये हालसम्म १९ हजार २ सय ४२ हेक्टरमाधान रोपाइ सकिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार सबै भन्दा धेरै डोल्पा जिल्लामा २ सय ७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ९७ प्रतिशत अर्थात २ हजार ७ सय १६ हेक्टरमा धान रोपाइ सकिएको छ ।
कर्णालीका अन्य जिल्लाहरु दैलेख, रुकुम पश्चिम, जाजरकोट, सल्यानका अधिकांश स्थानमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुर्खेतमा धान रोपाइँ कार्य उपत्यकामा सुरु भएको छ । सुर्खेतका ग्रामिण क्षेत्रका ३० प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ ।