कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
339

उदयपुर-सत्रौँ राष्ट्रिय धान दिवस २०७७ को अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–१३ मा चक्लाबन्दी गरेर धान खेत सुरु गरिएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले चक्लाबन्दी सुरु गरिएको उक्त १६० बिघा खेतको सोमबार धान दिवसको अवसरमा उद्घाटन गरेका हुन् ।

चक्लाबन्दी खेती साहारा कृषि सहकारी संस्थाको सहयोगमा बहेदवा, भाँती खर्च, ज्योति टोल र परताह चार टोलमा रहेको १६०.५ विघा जमिनमा धान रोपाइँ सुरु गरिएको हो ।
पच्चिस वर्षे योजनामा सुरु गरिएको उक्त चक्लाबन्दी खेतीमा १० कठ्ठा बराब एक गरा बनाएर खेती सुरु गरिएको छ । करिब पाँच करोडको यो आयोजनामा हालसम्म ५४ लाख ३८ हजार खर्च भइसकेको छ ।
जसमध्ये प्रदेश १ को कृषि विकास निर्देशनालयको ३४ लाख रुपैयाँ लगानी रहेको छ । कृषि ज्ञान केन्द्र उदयपुर, ग्रामीण वातावरणीय विकास केन्द्रलगायत १५ जना किसानहरुको साझेदारीमा उक्त खेती सुरु गरिएको हो ।
चक्लाबन्दी गरिएको खेतमा १२ महिना नै खेती गर्ने योजना रहेको छ । सोमबार नै जग्गाको केही क्षेत्रमा धान रोपेर खेतीको सुरुवात गरिएको छ । आगामी पाँच वर्षलाई आधार वर्ष मानेर सुरु गरिएको यो खेती २५ वर्षको योजना हो ।
आयोजनाले हरेक किसान रोजगार हुने र अन्यलाई पनि रोजगार उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै चक्लाबन्दी खेतीलाई प्रवद्र्धन गर्ने घोषणा गरेको थियो ।
यसै अनुरुप सुरु भएको यो खेतीलाई विकास गर्नुपर्ने र अन्य क्षेत्रमा पनि यसलाई बढवा दिनुपर्ने मन्त्री भुसालले बताए । “कृषि लागत घटाउने मुख्य उपाय भनेको नै चक्लाबन्दी खेती हो”, मन्त्री भुसालले भने, “चामलको आयातलाई निरुत्साहित गर्न र खेतीको लागत घटाउन चक्लाबन्दी खेतीमा जोड दिनु आवश्यक छ ।”
उनले यस खेतीले व्यवसायिक खेती गर्नका लागि पनि प्रोत्साहन गरेको बताउँदै यो चक्लाबन्दी खेतीले सफलता पाउने विश्वास व्यक्त गरे ।
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले अन्य वडाहरुमा पनि चक्लाबन्दी खेती सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । मेयर चौधरीले किसानहरुलाई कृषि उपज बिक्री नहोला भन्ने चिन्ता नलिन पनि आग्रह गरे ।