प्रकाश लम्साल
आइतवार, असार १४, २०७७
794

बाराको तीन स्थानमा सलह किराले तरकारी तथा धान बाली खान थालेको छ । जिल्लाको निजगढ, डुमरबाना, सिमरा क्षेत्रमा सामान्य मनसुनसँगै सलह किराको प्रवेश भएको र सलहले क्षति गर्न थालेको कृषि ज्ञान केन्द्रले पुष्टि गरेको छ ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलह किरा जिल्लाका तीन स्थानमा खटिएका प्राविधिक टोलीको दिएको रिपोर्टअनुसार दिउँसो १ बजे खेतबारीमै सक्रिय रहेको र बिहानीको पानी रोकिएपछि किराहरूले तरकारी बाली खान थालेको बताए ।

जिल्लामा प्राविधिकसहितको टोली परिचालन गरीएको बताउँदै सलह किराले कुनै पनि उब्जनी खाने हुदाँ यसबाट क्षति अहिले भन्न नसकिने अवस्था रहेको यादवले बताए । तरकारी, केरा, मकै धान उब्जनी रहेको ति क्षेत्रका किसानमध्ये पिलुवा क्षेत्रका मकै किसानहरू त्रसित बनेका छन । बिहानदेखि एकाएक सयौको संख्यामा ठूलो झुन्ड सलह किरा देखेर उत्पादन हुने उब्जनीको नास हुने विषयमा किसानहरू चिन्तित बनेका थिए ।
बाराको कृषि ज्ञान केन्द्रले पानी परिरहेको बेला बाली संरक्षण प्राविधिकसहितको टोलीले सलह किरा नेपाल भित्रिएको पुष्टि गरी तत्काल किरा भएको क्षेत्र पहिल्याउँदै अपनाउने उपाएहरूमा कृषकहरूसँग छलफल र सुझाव दिएको जनाएको छ ।