प्रगति ढकाल
आइतवार, असार १४, २०७७
662

सरकारले वन्यजन्तु पालनमा फेरि रोक लगाएको छ । वन्यजन्तुबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने सम्भावना रहेको भन्दै तत्कालका लागि वन्यजन्तु पालनमा रोक लागाइएको हो ।
चीनको बुहानबाट सुरु भएर अहिले विश्वभर फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिरहेको बेलामा चिकित्सकहरूले वन्यजन्तुबाट पनि टाढा रहन सुझाव दिएका छन् । कोरोनाभाइरस वन्यजन्तुबाट मानिसमा फैलिन नदिनका लागि वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु पालन गर्न पाउने व्यवस्था तत्कालका लागि रोक लगाएको छ ।

वन्यजन्य पालन तथा प्रजनन तथा अनुसन्धान कार्यविधि २०६० अनुसार हाल कृषकहरूले व्यवसायीक रुपमा कालिजपालन गर्न थालेका थिए । वन्यजन्तुहरूको दीगो संरक्षण, संवद्र्धन र सदुपयोग गरी आय एवं रोजगारीका अवसरहरूको वृद्धि गर्न र चालु दशौं पञ्चवर्षीय योजनाको नीति तथा कार्यनीतिमा समेत उच्च मूल्यका हरिण, कस्तुरी, जरायो, बँदेल जस्ता वन्यजन्तु एवं पशुपंक्षी पालन कार्य गरिने उल्लेख भएको र सोही योजनाको कार्यान्वयन व्यवस्थामा वन्यजन्तु पालन र अनुसन्धान कार्यमा समूह, व्यक्ति एवं संस्थालाई अभिप्रेरित गरी जैविक विविधता संरक्षण कार्यबाट महिला, गरिब तथा पिछडिएको वर्गको जीवनस्तरमा सुधार ल्याउन अपनाउनु पर्ने प्रक्रिया र कार्यक्रमलाई सुनिश्चित गर्न कार्यविधि बनाईएको थियो । कार्यविधिअनुसार अधिकारप्राप्त अधिकारीबाट अनुमति प्राप्त गरेको अवस्थामा वाहेक स्वीकृति प्राप्त गरी पालन तथा नेपाल अधिराज्य वाहिर निकासी गरिएका वन्यजन्तुको अनुवांशिक स्रोत तथा आनुवांशिक पदार्थको उपयोग गर्न पाइने छैन । “बीउ प्राणीको रुपमा वाहेक अन्य मुलुकवाट व्यवसायिक प्रयोजनको लागि कुनैपनि वन्यजन्तु नेपाल अधिराज्यभित्र पैठारी गर्न र नेपाल अधिराज्यको बाटो गरी तेस्रो मुलुकमा निकासी गर्न अनुमति दिईने छैन,” कार्यविधिमा भनिएको छ, “अनुसन्धानका लागि नेपालमा प्रजनन् केन्द्र स्थापना गरिएका सन्दर्भमा अनुसन्धानको लागि नमूना परीक्षण गर्ने सुविधा नेपालमा उपलब्ध छैन भन्ने भएमा परिक्षणको लागि रगत, भुत्ला जस्ता पदार्थमात्र डीएनए एनालाइसिसको लागि पूर्व स्वीकृति लिएरमात्र विदेश लैजान पाइनेछ । नेपाली पक्ष समेतको संलग्नतामा र नेपालमा पालन र प्रजनन् गराईएका वन्यजन्तुहरूको अनुसन्धान गर्दा निस्किएको परिणामहरूको हकाधिकार नेपाली पक्षमा समेत रहने गरी अनुसन्धान नतिजा प्रकाशित गर्नु पर्नेछ । ”
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले कोरोना भाईरसका कारण तत्कालका लागि वन्यजन्तु पालनमा रोक लगाईएको बताए । “यतिबेला कोरोना भाईरसको महामारीबाट विश्व नै आक्रान्त भइरहको छ, वन्यजन्तुबाट पनि कोरोना सर्छ भन्ने कुरा आएर तत्कालका लागि रोकिएको हो,” उनले भने, “कहिलेबाट फेरि खुलाउने भन्ने एकिन छैन ।”
वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा हाल व्यवासायिक वन्यजन्तु पालन तथा प्रजनन कार्यविधि पनि बनिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले कार्यविधिको मस्यौदा बनिसकेको जानकारी गराए । “व्यावसायिक वन्यजन्तु पालन तथा प्रजनन कार्यविधिको मस्यौदा तयार भइसकेको छ,” उनले भने, “वन्यजन्तुबाट कारोना सर्ने डरले गर्दा तत्कालका लागि पालनमा रोक लगाइएको छ, कहिलेबाट खुलाउने भन्ने बिषयमा भने छलफलमै छौं ।”