घनश्याम पौडेल
बुधवार, जेठ २१, २०७७
482

अर्घाखाँची जिल्ला तरकारीमा आत्मनिर्भर छैन । आत्मनिर्भर नभएका कारण रुपन्देही कपिलवस्तु तथा भारतबाट पनि अर्घाखाँचीमा तरकारी आउने गर्छ । जिल्लामा उत्पादन भएको तरकारी ग्रामीण भेगमा बजारमै बिक्री वितरण हुन्छ । सन्धिखर्क नगरपालिकाभित्र उत्पादन भएको तरकारी सन्धिखर्क बजारमा बिक्री हुन्छ । उत्पादन क्षेत्र कम भएकाले यहाँको तरकारीले सदरमुकामलाई पुग्दैन । तरकारीका लागि अर्घाखाँची परनिर्भर छ ।
कोरोनाका कारण अर्घाखाँचीमा अर्घाखाँची जिल्लामा कपिवस्तुबाट ल्याइएको तरकारी नष्ट गरिएको छ । छिमेकी कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउन नपाइने निर्णय गरे तापनि तरकारी आएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नष्ट गरेको छ । सन्धिखर्कको फोहोर फाल्ने ठाउँमा लगेर प्रहरीले तरकारी नष्ट गरेको हो ।

सन्धिखर्कमा तरकारी तथा फलफूल बिक्री वितरण गर्दै आइरहेको पुष्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० बाट बिक्री वितरणका लागि ल्याइएको हरियो तरकारीहरू बोडी, करेला, लौका, घिरौला, गोलभेडा र खुर्सानीहरू प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । सदरमुकामको डम्पिङ साइडमा तरकारी नष्ट गरिएको हो ।
अर्घाखाँचीमा खाद्यान्न तथा विकास निर्माणमा प्रयोग हुने सामग्रीहरू भने चालक र सहचालक मात्रै आवातजावतमा ल्याइएको छ । स्थानीय सरकारले कोरोना रोकथामका लागि क्वारेन्टाइन निर्माण, भारतबाट मानिस ल्याउने व्यवस्थापन गर्नेमा लागेका छन् । जिल्लामा अहिलेसम्म दुई जनामा संक्रमण देखिएको छ । कपिलवस्तुबाट ल्याएको तरकारी नष्ट गरिए तापनि अर्घाखाँचीका ग्रामीण भेगको तरकारी भने अर्घाखाँची जिल्लाका ग्रामीण भेगका कृषकहरू लकडाउनका कारण समस्या परेका छन् । व्यावसायिक रूपमा कृषि पेशा अंगालेका यहाँका कृषकहरू तरकारी बिक्री नभएको कारण चिन्तित भएका छन् ।

अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका खिदिम फर्सवाका कृषकहरू तरकारी बिक्री नभएको कारण घर खर्च चलाउनका लागि मुस्किल परेको बताउने गर्छन् । व्यावसायिक हिसाबले तरकारी खेती गरेका किसान तरकारी बिक्री गर्न लकडाउनको कारण बजार नपाएर तरकारी बारीमा नै कुहिएको छ, स्थानीय कृषक रुकमांगत पन्थीले बताए । पाणिनीको फर्सवा, दुर्गाफाट, पोखराथोक, धातिवाङलगायतका व्यावसायिक किसानहरू टनेलमै तरकारी कुवाउन बाध्य छन् । पहुँच हुनेले ग्रामीण भेगका बजारमा बिक्री गरे पनि सबै कृषकले बिक्री गर्न पाएका छैनन् ।
लकडाउनको कारण तरकारी बिक्री वितरण गर्न बजार पाएका छैनन् । लकडाउनका कारण बिक्री हुँदै आएको पाल्पा, बुटबलमा पनि तरकारी पठाउन कृषकहरूले पाएका छैनन् ।