कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
445

धनगढी- सरकारले आफूहरूको समस्या सम्बोधन नगरेको भन्दै कैलालीका व्यापारीहरूले धनगढीमा बजार खोल्ने चेतावनी दिएका छन् । कैलाली उद्योग बाणिज्य संघले मंगलबार बिहान लकडाउनको औचित्य नदेखिएको भन्दै समय मिलाएर बजार खोल्ने तयारी गरिएको जनाएको छ ।
“सरकार कर तिर्न ताकेता गर्छ । बैंकको व्याजको पनि त्यस्तै समस्या छ,” उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, “अब लकडाउन भनेर बसेर हुँदैन । व्यापार सुरु गर्नुपर्छ ।” बुधबारसम्म सरकारको मोडालिटी हेरेर व्यापार सुरु गर्ने तयारीमा रहेको उनले बताए । “व्यापारको प्रकृति हेरेर सरकारले समय निर्धारण गर्नुपर्छ,” उनले भने, “समय मिलाएर बजार खोल्ने व्यवस्था गरे हामी स्वीकार गर्छाै नत्र हामी नै समय मिलाएर बजार सुचारु गर्छाैं ।”
छलफलमा सहभागी उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले लकडाउनको प्रारूप फेर्नुपर्ने बताए । “भोकमरीका कारण मजदुरले आत्महत्या गर्ने अवस्था आएको छ,” उनले भने, “यहाँ त अब रोगले भन्दा बढी भोकले मर्लान् भन्ने डर भयो ।” अर्थतन्त्र धरासयी भएको र सरकारले यसतर्फ ध्यान नदिएको उनले बताए । उद्योग वाणिज्य संघले जिल्ला प्रशसान कार्यालय कैलालीलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । प्रशासनले व्यवसाय सञ्चालनको अनुमति नदिए बुधबारदेखि आफ्नो व्यवसाय सञ्चालन गर्ने समेत संघले चेतावनी दिएको छ ।