मकरराज धामी
आइतवार, जेठ १८, २०७७
429

बझाङ-लकडाउनको समयमा बझाङका विभिन्न सामुदायिक र राष्ट्रिय वनमा गैरकानुनी क्रियाकलाप बढेका छन । लकडाउनको मौका छोपी तस्करहरूले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैध रूपमा वन फडानी गरी दार काठ, जडिबुडी संकलन तथा चोरी सिकारीजस्ता गैरकानुनी क्रियाकलाप गरिरहेका छन ।
जेठ १३ गते छबिस पाथिभेरा गाउँपालिका–७ मा रहेको जलजला वासुधारा सेरी निसान सामुदायिक वनका पदधिकारीले आफ्नो वनमा काठ कटान गर्न नक्कली पुर्जी दिएको भन्दै तिखाउडी चाल्लाखर्क सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराविरुद्ध जिल्ला प्रशासन कार्यालय बझाङमा उजुरी दर्ता गराए । प्रशासनमा दिइएको उजुरीमा तिखाउडी चाल्लाखर्क सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले आफ्नो वनको नक्कली काठ संकलनको पुर्जी दिएर करोडौंको काठ कटानी गराएको आरोप लागाइएको छ ।

गैरकानुनी हिसाबले आफ्नो जंगलमा पाइने लोपोन्मुख प्रजातिका ठिङे सल्लो, लालिगुँरास, भोजपत्रलगायत करिब ३ सय साना ठूला रूख कटान गराई करोडौंको काठ बिक्री गरेको जलजला वासुधारा सेरी निसान सामुदायिक वनका अध्यक्ष विष्णु धामीले बताए । उनले भने, “लकडाउनको समय भएका कारण आफूहरू वन क्षेत्रमा नगएको लामो समय भएको थियो । पछि हाम्रै उपभोक्ताले आफ्नो वन कटानी भइरहेको भन्ने जानकारी दिएपछि मात्र आफूहरूलाई थाहा भएको हो । उनीहरूले काठ कटानी गरेको वन क्षेत्र हाम्रै हो । हामीहरू लामो समयदेखि सो क्षेत्र उपभोग गर्दै आएका छौँ । लकडाउनको मौका छोपेर वनभित्र दार काठ संकलनमात्र नभई अवैध रूपमा जडिबुडी र चोरी सिकारीजस्ता गैरकानुनी क्रियाकलाप भइरहेको छ । वन कटानीमा संग्लन भएकालाई वन ऐनबमोजिम कारबाही गरी नियमानुसार विगो असुल उपर गरिदिन जिल्ला प्रसासन कार्यालय र जिल्ला वन डिभिजन कार्यालयमा निवेदन दिएका छौँ । वन फडानी भएको वन क्षेत्र दुवै सामुदायिक वनका उपभोक्ताले आफ्नो वन क्षेत्र भएको दाबी गरिरहेका छन ।
तिखाउडी चाल्लाखर्क सामुुदायिक वनका अध्यक्ष लक्ष्मण बोहराले आफूले पुर्जी दिएकै वनमा रूख काटिएको बताए । उनले भने हामीले पुर्जी दिएकै स्थानमा रूख काटिएको छ । रुख कटानी भएको वन क्षेत्र हाम्रै सामुदायिक वनमा पर्छ । जलजला सेरी निसान वनले विवाद सिर्जना गर्न मात्र यस्तो आरोप लगाएको बताए । अध्यक्ष बोहराले फेरि वनको सीमा नाप्न समेत आफु तयार भएको बताए ।
तिखाउडी चाल्लाखर्क सामुुदायिक वनका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले जलजला वासुधारा सेरी निसान सामुदायिक वनमा काठ कटान गर्न नक्कली पुर्जी दिएको भन्दै उजुरी दिएपछि डिभिजन वन कार्यालय बझाङको एक टोलीले स्थलगत अनुगमन गरेको छ । रेञ्जर कपिल रावल नेतृत्वको ५ सदस्यीय टोलीले फडानी भएको वनको स्थलगत अनुगमन गरेर शुक्रबार जिल्ला फर्केको छ । अनुगमनका क्रममा टोलीले १३ वटा ठिङे सल्लोका रूख र अन्य प्रजातीका १३ वटा ठूला रूख अन्य साना रुखहरुकाटेको भेटाईएको छ । रेञ्जर रावलले २÷३ दिनभित्र स्थलगत अध्ययन प्रतिवेदन तयार पारेर वन डिभिजनमा बुझाउने बताए । अनुगमनका क्रममा दुवै वनबीच सीमा विवाद देखिएकाले यसको समाधान हुन समय लाग्ने अनुगमन टोलीको भनाइ छ । दुवै वनका अध्यक्षलाई जिल्लामा बोलाएको र सीमा विवादका बारेमा पनि अध्ययन गरिने भएको छ । डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले अध्ययन प्रतिवेदनअनुसार अगाडि बढ्ने बताए । उनले अनुगमन गरेर टोली फर्किसकेकाले अध्ययन प्रतिवेदन बुझाए पछि मात्र विस्तृत थाहा हुने भएकाले प्रतिवेदन अनुसार अघि बढने र यो प्रकरणमा कसैले बदमासी गरेकोे पाइएमा कानुनअनुसार कारबाही हुने बताए ।

चोरी सिकारी तथा जडिबुडी संकलन बढ्यो
लकडाउनको मौका छोपी जिल्लामा रहेका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा दैनिकजसो जंगली जनावरको चोरी सिकारी बढेको छ । सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न लकडाउन गरेपछि जिल्लाका अधिकांस वनमा जंगली जनावरको चोरी सिकार बढेको स्थानीयको भनाइ छ । लकडाउनको मौका छोपेर वनमा सिकारीहरूले बँदेल, हरिण, रतुवा, कस्तुरी, घोरल बाघलगायतका वन्यजन्तुको सिकार गर्ने गरेका छन । जिल्लाका बुङगल नगरपालिका, सुर्मा साइपाल, छविसपाथभिरा, खप्तडछान्ना, तल्कोटलगायतका गाउँपालिकाका अधिकांस वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी हुने गरेको छ ।