कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७
4047

सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेकाे छ । शनिबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेकाे हाे ।
शनिवार साँझ बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै अाएकाे छ ।

साथै, विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना पनि सरकारले स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्काे बैठकले सेना परिचालन गर्ने भएको छ । विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन गर्न सेना परिचालन गर्न लागेको हो । सुरक्षा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको हो ।
कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको हाे । सरकारले विदेशबाट ६ लाख नेपाली नागरिकलाई ल्याउने तयारी गरेको छ ।
यस्तै, नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ६० पुगेको छ।