प्रगति ढकाल
शुक्रवार, जेठ १६, २०७७
863

यही असार मसान्तभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने र आगामी आर्थिक वर्षको सुरुवातमा काठमाडौं उपत्यकामा मेलम्ची पानी वितरण गरिने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा २०७७-०७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी वितरण गर्न बजेटको व्यवस्था गरिएको बताएका हुन् ।
“सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,” बजेट प्रस्तुत गर्दै उनले भने, “चालु आर्थिक वर्षभित्र नै मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरिने छ ।”

काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरेको मन्त्री खतिवडाले बताए ।
जिल्ला संयोन्वयन समितिका प्रमुख कृष्णगोपाल तमाङले कोरोनाको समयमा पनि मेलम्ची खानेपानी आयोजनाको काम जारी रहेकाले ९९ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी गराए । “प्राविधिक कारण लम्बिन पनि सक्छ, चालु आर्थिक वर्षमै काम सम्पन्न हुने सम्भावना त छ, तर निश्चित छैन ।” उनले भने ।
सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बागमतीमा खसाल्ने आउट फलको काम पनि अन्तिम चरणमा पुगेको छ ।
इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । निर्माण कम्पनी बाहिरीएसँगै आयोजनाको काम सम्पन्न गर्न ढिलाई भएको उनको हो ।
त्यसै गरी आगामी वर्षबाट दोस्रो चरणको याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीसँग मिसाएर ल्याउने योजनाको काम सुरु गरिने छ । त्यसका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

खानेपानी मन्त्रालयका लागि ४३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन
आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयका लागि ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी दुई वर्षमा सबै नागरिकका लागि आधारभूत खानेपानी पु-याउने लक्ष्य लिइएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को संस्थागत सुधारका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ । साना खानेपानी आयोजना प्रदेशबाट सञ्चालन गर्न व्यवस्था मिलाइएको खतिवडाले जानकारी दिए ।
उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड रुपैयाँ वितरण गरिएको छ । महाकाली, कर्णाली, बबइ, कोसीलगायत लगायत जलाशयुक्त र थोक खानेपानी आयोजनाहरुको सम्भाव्यता अध्यन गरिने भएको छ ।