मनोरञ्जन शर्मा
सोमवार, जेठ १२, २०७७
519

भैरहवा-रुपन्देहीका कृषकहरुले आफूहरुले उत्पादन गरेको कृषि उपजहरु लकडाउनका कारण शहरबजारमा लगेर बिक्री गर्न नपाए पछि न्यून मूल्यमा बिक्री गर्न थालेका छन् ।
शनिबारमात्रै आफूले फलाएका कृषि उपज बजारसम्म लगेर बिक्री गर्ने वातावरण नभएपछि रुपन्देही शुद्धोधन गाउँपालिका १ बेलवाका किसान शम्भु चौहानले आफ्ना कृषि उत्पादन सस्तो मूल्यमा बिक्रीका लागि सामाजिक सञ्जालको माध्यमले प्रचार गरे । उनले कायम गरेको तरकारीको मूल्यमा लौका, काँक्रा, भिण्डी सबैको प्रतिकिलो १० रुपैयाँ थियो ।

“भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना जस्ता नगरपालिकामा लगेर बिक्री गर्न सकिएन् । प्रदेश सरकारले विभिन्न सस्था र सहकारी मार्फत सुरु गरेको कृषि एम्बुलेन्सले पनि अर्डर अनुसारको मात्रै तरकारी उठाउने भनेपछि हामी ढुवानीको श्रोत साधन केही नभएका कृषकहरु सस्तोमा गावैमा तरकारी बेच्न बाध्य छौं ।” चौहानले भने ।
तरकारी त्यसै कुहाउनु र बाटोमा फाल्नु भन्दा सस्तो मूल्य कायम गरे गरिबहरुले पनि खरिद गर्न सक्ने र अन्य पनि आउने भएकाले आफूले उत्पादन गरेको जुनसुकै तरकारी १० रुपैयाँ किलोमा बिक्री सुरु गरेको उनले बताए । चौहानका साथीभाइले स्थानीय किसानको सस्तो मूल्यमा ताजा तरकारी खरिद गर्दै भारतबाट आउने तरकारी प्रयोग नगर्न आग्रह सहितको पोष्ट फेसबुकमा राखेका थिए ।
चौहान त रुपन्देहीका एक प्रतिनिधि पात्र कृषक हुन् । उनी जस्ता हजारौ किसानले खेतमा फलाएका तरकारी लकडाउनका समयमा स्थानीय तहले सहजीकरण नगर्दा गाउँमै सस्तोमा बेच्न बाध्य छन् । एकाध कृषकले छिमेकी स्थानीय तहसम्म लगेर बिक्री गर्ने गरेका छन् । तर मूल्य भने पाएका छैनन् ।
तिलोत्तमामा रहेको जनउत्थान बचत तथा ऋण सहकारीका सदस्यहरु पनि कृषि कर्ममा छन् । तर उनीहरुको कृषि उपज पनि अन्यत्र लगेर बिक्रीका लागि समस्या आएपछि तिलोत्तमा कोटीहवास्थित सहकारी कार्यालय परिसरमै बिक्रीको प्रबन्ध मिलाएको सहकारीका व्यवस्थापक रनबहादुर थापाले बताए । कृषकले त्यहिँबाट ५० रुपैयाँमा घिरौला, भिन्डी, करेलो गरी ३ किलो बिक्री गर्दै आएका छन् । जनउत्थानले यो वर्षदेखि ३३ विघा जमिनमा सामूहिक कृषि खेती गर्दै आएको जनाएको छ । लकडाउनका समयमा भने सहकारीका सदस्य कृषकहरुले फलाएको तरकारी खरिद गरी कृषि एम्बुलेन्समार्फत बिक्री गरेको जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेलले बताइन् ।
वैशाख ९ गतेदेखि जेठ ८ गतेसम्म २९ दिन निरन्तर तरकारी बिक्री गरी कृषकहरुलाई ३५ लाख प्रदान गरेको उनले बताइन् । तर भारतीय तरकारीको बिगबिगीका कारण नेपाली कृषकका तरकारीले बजार र मूल्य नपाउने गरेको उनले बताइन् । बजारमा पु¥याउन कठिन र मूल्य पनि नपाएकै कारण अहिले तरकारी सस्तोमा किसानले बेच्दै गरेको अध्यक्ष पौडेलले बताइन् ।
गैडहवा गाउँपालिकामा ५ रुपैयाँ किलोसम्म तरकारी बिक्री किसानले गरेको उनले बताइन् । आफूले उत्पादन गरेका कृषि उपजहरु सहज रुपमा बिक्री नहँुदा किसानलाई ठूलो नोक्सानी भएको अष्ट्रिच नेपाल प्रालिका प्रबन्ध निर्देशक सिपी शर्माले बताए । उनका अनुसार रुपन्देहीका विभिन्न गाउँपालिकाका किसानले तरकारीसँगै घाँस खेती पनि गर्ने गरेका थिए ।
उनीहरुले उत्पादन गरेको घाँस अष्ट्रिच चराको आहाराको रुपमा खरिद गर्ने गरेको तर अहिले त्यो पनि ल्याउन अप्ठेरो परेको शर्माको भनाई छ । शर्माका अनुसार लकडाउनका समयमा रुपन्देही जिल्लामा उत्पादित कृषि उपजहरुले जिल्लाबासीलाई पर्याप्त पुग्ने थियो । त्यति मात्र नभई छिमेकका पहाडी जिल्लामा समेत आपूर्ति हुन सक्थ्यो । “लकडाउनका समयमा स्थानीय तहले कृषि उपज बिक्रीका लागि वातावरण नबनाउँदा अहिले बजार भरी भारतका तरकारी अनि नेपाली किसान मारमा छन् ।”शर्माले भने ।
लक्डाउन सुरु भएपछि चैत ११ देखि जेठ ९ सम्म ६० दिन को अवधीमा भारतबाट भैरहवा नाका हुँदै १ हजार ९ सय ४ ट्रक तरकारी र फलफूल तथा ७ सय ५० ट्रक आलु प्याज गरी कुल २६ सय ५४ ट्रक तरकारी, फलफूल र आलु प्याज नेपाल भित्रिए ।