कारोबार संवाददाता
शुक्रवार, चैत्र २८, २०७६
490

महेन्द्रनगर-विश्वभर कोरोनाभाइरस अर्थात कोभिड–१९ को कहर बढेसँगै नेपालमा पनि सरकारले उच्च सर्तकता स्वरूप लडकाउन गरेको छ । तर, कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने लकडाउन पछि सुरक्षामा चुनौती देखिएको छ ।
लकडाउनको समयमा सरकारले आम सर्वसाधारणलाई घरबाहिर ननिस्कन भने पनि निकुञ्जको मध्यवर्ती क्षेत्रमा भने मानिसहरूको चहलपहल बढेको छ । चहलपहल बढुसँगै निकुञ्जको सुरक्षामा चुनौती थपिएको छ । लकडाउनको अवस्थामा निकुञ्जभित्र अवैध रूपमा प्रवेश गरी काठ तस्करी, माछा मार्ने, शिकार गर्ने कार्यहरू बढेपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
“लकडाउनको समय छ, मानिसलाई घरभित्र बस्न उकुसमुकस भएको होला, केही काम नभएपछि निकुञ्ज किनारका बस्तिबाट मानिस निकुञ्ज पस्ने क्रम एकदमै बढको छ,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने, “निकुञ्जका कर्मचारी घर बिदामा गएको बेला कोरोनाको संक्रमण हुन नदिन सरकारले लकडाउन गरेपछि घर गएकाहरूले कार्यालय फर्कनसमेत नपाएपछि केही जनशक्तिमा पनि कमी भएर पनि समस्या भएको छ ।”
नजिक घर भएका कर्मचारी फर्किएको र टाढा घरभएका कर्मचारीलाई फर्काउन सम्भव नभएको पनि उनले बताए । निकुञ्जले भने लकडाउनको समययता निकुञ्न भित्र तेब्बर रूपमा गस्ती बढाएको छ । “निकुञ्जको चारैतिर समुदायको बसोबास रहेको छ, सुृरक्षामा झनै चुनौति थपिएको छ,” संरक्षण अधिकृत पौड्यालले भने, “जनशक्ति थोरै भएपनि सुरक्षित भएर गस्ती बढाइरहेका छांै ।”
निकुञ्जको पश्चिमतिर बग्ने महकाली नदीमा पानीको मात्रा न्यून भएकोले सबैभन्दा बढी महाकाली पारि दोधरा चाँदनीबाट निकुञ्जको सुरक्षामा धेरै चुनौती थपिएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।
“निकुञ्ज किनारका मानव वस्तीहरू मध्ये दक्षिणी क्षेत्र वेल्डाँडी र पश्चिमी क्षेत्र दोधरा चाँदनीको निकुञ्ज किनारका बस्तीहरूबाट निकुञ्जभित्र पसेर चोरी तस्करी हुने क्रम बढेको छ । निकुञ्ज प्रवेश गरेर चोरी तस्करी बढेसँगै भित्र पसेका मानिसबाट जनावरमा पनि कोरोनाभाइरस सर्ने सम्भावना अझ बढी छ,” उनले भने । सामान्य घाँस दाउरा चोर्ने लाई ५ सयका दरले पैसा तिराएर छाड्ने गरेको भएपछि मुद्दा चलाउनुपर्ने अभियुक्तलाई भने पक्रेर पनि कोरोनाको क्रासले समस्या भएको पोड्यालको भनाई छ । चारेर निकुञ्ज प्रवेश गर्ने र चोरेर नै तस्करी गर्ने मानिसहरूकोे संख्या दिन प्रतिदिन बढ्दै गएको पनि उनले बताए ।
“चोरीतस्कर गर्ने मानिसको निगरानीको लागि सुरक्षा गस्ती बढाएको भएपनि निकुञ्ज प्रवेश गरेको व्यक्तिले आगो लगाइदिने जोखिम पनि बढेको छ,” उनले भने, “प्रक्राउ गरिहाले पनि रोगको लाग्ने पो हो कि भन्नेको पनि जोखिम उत्तिकै हुन्छ ।” निकुञ्ज प्रशासनले निकुञ्जको सुरक्षा बलियो पार्न निकुञ्ज किनार तथा निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा चौबिसै घण्टा सुरक्षा गस्ती गर्ने पनि जनाएको छ ।

सेनाले निकुञ्जभित्रै ११३ लाई पक्रियो
सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि मुलुकुभर लकडाउन गरेका बेला कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भित्र प्रवेश गरेर गैरकानुनी कार्य गर्ने १ सय १३ जनालाई पक्राउ गरिएको छ । विश्वलगायत नेपालमा पनि कोरोना भाइरस अर्थात कोविड–१९ को नियन्त्रणका लागि लकडाउन गरिएको दशक दिनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले अवैध तरिकाले निकुञ्जमा प्रवेश गरेर काठ दाउरा काट्ने, काठ तस्करी गर्ने र तलाउ तथा नदीमा माछा मार्ने लगायत गैरकानुनी कार्य गर्ने ११३ जनालाई सेनाले पक्राउ गरेको हो । सेनाले गैरकानुनी कार्य गर्ने ति सबै लाई पक्राउ गरी कारबाहीका लागि निकुञ्ज प्रशासनलाई बुझाएको जनाएको छ ।
लकडाउन अवधिमा निकुञ्जभित्र अवैध रूपमा घाँसदाउरा काट्ने ९९ जना महिला, माछा मार्ने १० जनाको गिरोह र ठूलो परिणाममा काठ तस्कर गर्ने गिराहेका नाइकेसहित ४ जनालाई पक्राउ गरिएको गणपति बस्न्यातले बताए । पक्राउ परेकाहरू मध्ये अधिकांश बाघफाँटा, जोनापुरी, तारापुर, १० नम्बर घाट, चम्पापुर र चौधरा नदी क्षेत्रबाट बढी पक्राउ परेका हुन । निकुञ्ज प्रशासनले भने पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

चन्द्रकान्त जोशी