कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
397

पोखरा- अझै पनि भारतबाट नेपालीहरु स्वदेश आएको सन्दर्भमा कोरोना भाइरको संक्रमण रोकथाम र नियन्त्रणको लागि
कास्कीको माछापुछ्रे गाउँपालिकाले भारतबाट फर्किएकाहरुको लगत संकलन गर्ने भएको छ । भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरसको संक्रमणको जोखिम भएकोले उनीहरुको लगत संकलन गर्न लागिएको माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

तेश्रो मुलुकबाट हवाई मार्ग हुँदै गाउँपालिकामा आएका अधिकांशमा हालसम्म कुनै समस्या नभएको अध्यक्ष गुरुङले बताए । उनले भने, “अब कोरोना भाइरसको संक्रमण भनेको भारतबाट आएका नेपाली वा भारत हुँदै आउने मानिसहरुको रेखदेख गर्न प्रत्येक घरमा पुगेर नाम संकलन गरी अनिवार्य रुपमा १४ दिन होम क्वारेनटाइनमा राख्ने व्यवस्था गर्छौं ।” होम क्वारेन्टाइनमा रहेकाहरुको प्रत्यक्ष निगरानी भने स्थानीयलाई नै गर्न लगाउने अध्यक्ष गुरुङले बताए । कसैको घरमा क्वारेनटाइनको रुपमा राख्न नसक्ने अवस्था गाउँपालीकाले वडा ४ स्थित बानेटाकुरामा हालै निर्माण गरेको क्वारेनटाइनमा राखिने भएको उनले जनाए ।
माछापुछ्रे गाउँपालिकामा लकडाउनका कारण खाद्यान्न अभाव भएकाहरुको नामावली संकलन गरेर राहत वितरण गर्ने पनि अध्यक्ष गुरुङले बताए । माछापुछ्रे गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट उक्त राहत वितरण गर्ने अध्यक्ष गुरुङले बताए ।
भारत, दुवइ, कतार, साउदी, बेलायत, फ्रान्स लगायतका देशबाट आएका ३० जनालाई होम क्वारेनटाइनमा राखिएपनि उनीहरु अधिकांशमा कुनै संक्रमण नदेखिएको अध्यक्ष गुरुङले बताए ।