कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
498

पोखरा- कोरोना भाइरस (कोभिड—१९) का कारण कास्कीमा जथाभावी रुपमा राहत संकलन गर्ने र वितरण गर्ने क्रम बढेसँगै कास्की प्रशासनले प्रशासनको अनुमति विना राहत संकलन र वितरण नगर्न निर्देशन दिएको छ । प्रशासनको अनुमति र स्थानीय निकायको सिफारिस विना अब कसैले कास्कीमा राहत संकलन तथा वितरण गरे प्रशासनले कारवाही गर्ने भएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत नवराज बरालले बताए । एकद्वार प्रणालीबाट राहत वितरण गर्न प्रशासनले उक्त निर्णय गरेको उनले जनाए ।
कास्कीमा रहेका विभिन्न व्यक्ति, फर्म, कम्पनी, संघ संस्था र नागरिक समाज लगायतले नगद, जिन्सी, खाद्यान्न, लगायतका समग्रीहरु संकलन गर्ने प्रयास गरेको र राहत वितरणमा सक्रिय हुन खोजेको देखिएकोले यस्ता कार्यहरु निषेध गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए । प्रशासनको सूचना विपरित कोहि कसैबाट यस प्रकृतिका कार्यहरु गर्ने वा गराउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारहबाहि गरिने प्रजिअ ढकालले बताए ।
यसैबिच, पोखरा महानगरपालिका वडा नम्बर १२ ले सोमबार आफ्नो ढंगबाट संकलित राहत सामग्रि वितरण गरेको छ । महानगरपालिकाबाट राहत दिन ढिलाई भएकोले गर्दा हाल आफूहरुले विभिन्न संघ संस्थाको समन्वयमा सोमबार ७ सिय ७८ परिवारलाई राहत सामाग्रि वितरण गरेको वडा अध्यक्ष रामबहादुर कार्कीले बताए । २ हजार मूल्य बराबरको प्याकेजमा राहत सामग्रि वितरण गरिएको र थप करिब ४० जनालाई केही दिनमा पुनः राहत वितरण गरिने भएको अध्यक्ष कार्कीले जनाए ।