कारोबार संवाददाता
शुक्रवार, चैत्र १४, २०७६
533

लकडाउनभन्दा अगाडि नै तिर्थ यात्रामा निस्किएका १४ जना नेपाली घर फिर्ता हुन नपाएर अलपत्र भएका छन् । ती नेपालीहरु भारतको आन्ध्र प्रदेशमा अलपत्र परेका हुन् । पाँचथर फालेलुङ १ का ३ जना सहित झापा र मोरङ जिल्लाबाट तिर्थ यात्राको लागि भारतको आन्ध्र प्रदेशमा गएका उनीहरु लकडाउनका कारण अलपत्र परेका हुन् ।
“खानेकुरा किनेर खाने खान पनि पाइँदैन । यातायात पनि चलेको छैन । धर्मको लागि आएको, बिजोग भयो,” एक नेपालीले भने । अहिले बास बस्ने ठाउँ नपाउदा सडकमा बस्नुपरेको उनको भनाइ छ । कोरोना संक्रमणसँगै भारतमा २१ दिने लकडाउन सुरु भएपछि यातायातका साधन बन्द भएका छन् । उनीहरु रहेको क्षेत्रमा बस्तीमा बसेर बस्ने अवस्था छैन । स्थानीयले बास दिन मानिराखेका छैनन् । सडकमा पार्क गरेर राखेका सवारीमा रात बिताउनुपरेको टेलिफोन सम्पर्कमा आएका उनले बताए ।

स्थानीय प्रहरीले आफैं सुरक्षित स्थान खोजेर बस्न भनेको भए पनि त्यस्तो अवस्था छैन । यसअघि तिर्थ यात्रामा लैजाने ट्राभल एजेन्सीसँग सम्पर्क गर्दा भारत पूरै बन्द भएका कारण हाललाई आफूहरुले केही गर्न नसक्ने जवाफ दिएको उनीहरुले बताए ।
२१ फागुनमा भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरुको ११ चैतको सिलिगुडी आउने रेलको टिकट तय भएको थियो । बीचमा लकडाउन सुरु भएपछि उनीहरु अलपत्र परेका हुन् ।