गोविन्द खत्री
बिहिवार, चैत्र १३, २०७६
326

सुर्खेत-जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेबस्तीमा पनि कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरिएको छ ।
हाल भेरीगंगा नगरपालिका–२ को सत्तरीनजिकै छिन्चु खोलाकिनारमा बस्दै आएकोमा नगरपालिकाले राउटेबस्ती ‘लकडाउन’ गरेको हो । नगरपालिकाले राउटे समुदायका मानिसलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको छ । “सम्भावित कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व्यक्तिलाई राउटे बस्तीमा प्रवेश नदिने निर्णय गरेका छौं,” मेयर भुपेन्द्रबहादुर चन्दले भने, “बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं ।”

वर्षमा एक पटकमात्रै नुहाउने, खुल्लास्थानमा दिसा–पिसाब गर्ने, सरसफाइमा ध्यानै नदिने यो समुदाय कोरोनाको उच्चजोखिममा छ । “राउटे समुदायमा कोरोना संक्रमण भए अन्य समुदायमा त्यसको असर तत्कालै फैलिने देखिएको छ,” उनले भने, “त्यसैले सरसफाइसँगै बाह्य व्यक्तिलाई बस्ती प्रवेशमा रोक लगाएका छौं ।” काठका भाँडावर्तन बनाउने राउटे समुदाय दैनिक गुजाराका लागि व्यक्तिका घर–घरमा पुग्ने गर्छन् । बिरामी हुँदा उनीहरू औषधि–उपचार गर्दैनन् । नगरपालिकाले एक महिनाका लागि खाद्यान्नको जोहो गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेको छ । “एक महिनाका लागि पुग्ने खाद्यान्न दिए बस्तीबाट बाहिर नजाने राउटे समुदायले बताएका छन,” मेयर चन्दले भने, “नगरपालिका एक्लैले सहयोग गर्न नसक्ने भएकाले प्रदेश सरकारसँग खाद्यान्न उपलब्ध गराइदिन अनुरोध गरेका छौं ।
}” राउटे समुदायमा एक सय ५० जना सदस्य छन्। सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन निर्देशन दिए पनि यो समुदायका सबै सदस्य एउटै ठाउँमा भेला भएर बस्छन् ।
उपमेयर रेणु आचार्यले बस्तीमा नियमित हात धुनका लागि ट्याँकीसहित पानी र व्यवस्था गर्नुका साथै प्रत्येकलाई साबुन वितरण गरिएको बताइन् । उनले राउटे समुदायले खुल्ला ठाउँमा दिसा–पिसाब गर्ने भएकाले त्यसलाई रोक्नु प्रमुख चुनौती रहेको बताइन् । “फिरन्ते जाति भएकाले उनीहरू पालमुनि बस्छन्, शौचालय प्रयोग गर्दैनन्,” उनले भनिन्, “यस्तोमा शौचालय प्रयोग गर्न र हात धुन सिकाउनु नै हाम्रा लागि चुनौतीपूर्ण छ ।” उनले राउटे बस्तीमा अस्थायी शौचालय बनाइने बताइन् । “राउटे समुदायको बस्ती सरसफाइ, उनीहरूलाई हातधुने बानीको विकास गर्न र बस्तीमा प्रवेश बन्द गर्नका लागि स्वास्थ्यकर्मी र प्रहरी परिचालन गर्दैछौं,” उनले भनिन् ।