कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
353

धादिङ-कोरोना भाइरसको महामारीबाट बच्न सरकारले एक साताका लागि देशव्यापी लकडाउन गरेपनि धादिङका किसानलाई भने चैते धान रोपाईं गर्ने चटारो छ । गजुरी गाँउपालिकाका किसानहरु मानो रोपेर मुरी फलाउने समय भन्दै आलोपालोमा चैते धान रोपाइँ गरिरहेका छन् । “किसानहरु लकडाउनमा बस्दा व्याडमा धानको विरुवा हुर्किन्छ” “घरपरिवारका मानिसले मात्र गरु काम सकिँदैन । आलोपालो गर्नै प-यो । ज्यानको माया भएपनि अहिले काम नगरे असार पछि खान पाइँदैन ।” एक किसानले भने ।
यो समयमा गजुरी गाँउपालिकाको आठवटै वडामा धान रोप्ने समय भएको छ । किसानहरु एक हप्ता लकडाउनमा बस्दा गाँउपालिका भित्र करिव नौ सय हेक्टर खेतमा बाँझो रहन्छ । यसरी खेत बाँझो रहँदा एकातिर व्याडमा बीउ हुर्किने र अर्कोतर्फ बर्खामा खाद्यन्न अभाव हुन चिन्ता भएकाले काममा निस्किनु परेको स्थानीयहरुको भनाई छ ।
विगतमा पहिला धेरै खेताला बोलाएर एक जनाको एक खण्ड एकै दिन सक्ने गरी रोपाइँ गर्ने चलन थियो । तर युवाहरुको रोजगारीका लागि भन्दै गाउँबाट पलायन हुन थालेपछि जनशक्तिको अभावमा नजिकका छरछिमेकीसँग मात्रै आलोपालो गर्नु पर्ने अवस्था छ ।