कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
289

जुम्ला-सरकारले आह्वान गरेअनुसार जुम्लामा पनि लकडाउन लागू भएको छ । जुम्लामा चैत १० गतेबाटै शुरु भएको लकडाउनले सदरमुकामका सबै होटल, उद्योग सरकारी तथा गैरसरकारी संघसंस्था बन्द भएपछि सदरमुकाम सुनसान भएको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा दर्शन गर्न जानेहरु पनि कोही गएका छैनन् ।
सरकारको निर्णय अनुसार मंगलबार विहानैबाट जुम्ला सहित कर्णालीमा ‘लकडाउन’ पूर्णरुपमा कार्यान्वयन भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनले भनिन्, “सबैलाई बाहिर नआउन अनुरोध गरेका छौं, चोकचोकमा प्रहरी पनि खटाएका छौं । यदि कसैले अटेरी गरे नियम अनुसार कारबाही हुन्छ,” उनले भनिन् ।

लामो तथा छोटो दुरीका सबै सवारीसाधन समेत ठप्प भएका छन् । चैत १६ गतेसम्म सम्पूर्ण रुपमा घर बाहिर नआउन आग्रह गरिएको छ । सोमबारसम्म संचालनमा रहेका सम्पूर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् ।
प्रदेश राजधानी सुर्खेतमा पनि ‘लकडाउन’ प्रभावकारी भएको छ । एक सातासम्म सवारी संचालनदेखि व्यापार व्यवसाय अनाआश्यक आवतजावत सबै पूर्ण रुपमा बन्द गर्न गरेको आग्रहमा आम नागरिकले साथ दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । कर्णालीका सबै जिल्लामा लकडाउनलाई जनताले साथ दिएको भण्डारीको भनाइ छ ।