कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६
333

अधिकांश जिल्लामा अत्यावश्यक सेवाबाहेकका पसल बन्द


धनगढी-नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला लक डाउन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार सूचना जारी गरी सोमबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको हो भने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको सूचनामा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, हवाईमार्ग यात्री वा मालसामान ओसारपसार गर्ने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण तथा वितरण, फोहोर मैला संकलन तथा ढुवानी, विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा÷स्थलमा सोमबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
सूचनामा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, भीडभाड गर्ने कार्यक्रम नगर्न, नगराउन अनुरोध गरिएको छ । सूचनामा निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि धनगढीलगायत जिल्लाका सबै बजार सुनसान भएका छन् । यसअघि, कैलाली उद्योग वाणिज्य संघले आह्वान गरेको बन्दका कारण कैलालीका अत्यावश्यक पसलबाहेकका सबै बजार सोमबार बिहानदेखि नै बन्द छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने आइतबार मध्यरातिदेखि नै कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर निस्किन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । कञ्चनपुरमा अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक स्थल, बजार, कलकारखाना सबै बन्द छन् । कञ्चनपुरमा सार्वजनिक यातायातसमेत बन्द गरिएको छ ।
नेपाल सरकारले सबै नाका शिल गरेपछि भारतबाट घर फर्किरहेका नेपालीहरू धनगढीको त्रिनगर नाका र भीमदत्त नगरको गड्डाचौकी नाका खुल्ने प्रतीक्षामा बसिरहेका छन् । उनीहरूले आफूहरू नेपाल भित्रिन पाउनुपर्ने माग गर्दै नाराबाजीसमेत गरेको जनाइएको छ ।

सुदूरपश्चिममा एक हजार बेडको आइसोलेसन तयार
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा एक हजार बेडको आइसोलेसन तयार भएको जनाएका छन् । उनले कैलाली कञ्चनपुरमा सात सय ५० बेड, प्रत्येक पहाडी जिल्लाको अस्पतालमा ५÷५ बेड, नेपाली सेनाको प्रत्येक गणमा ७÷७ बेड, प्रत्येक निजी अस्पतालमा ७ देखि १० बेडमा आइसोलेसन बनेको बताए ।
उनले यसले पनि नपुग्ने स्थिति आएमा प्रदेशमा रहेका होटलहरूको कोठासमेत प्रयोग गर्ने विषयमा होटल व्यवसायी र होटल व्यवसायी संघसँग सल्लाह भएको बताए । उनले यी बेडहरूलाई कतिपय क्वारेन्टाइन र कतिपय आइसोलेसनका लागि प्रयोग गरिने बताए । उनले भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न अक्ने अवस्था नरहेकाले सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरे । घरको अवस्था नाजुक रहेको वा सानो घर रहेको व्यक्तिले क्वारेन्टाइनमा बस्नुपर्ने भए नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नसमेत मन्त्री सुवेदीले आग्रह गरे ।
मन्त्री सुवेदीले कोरोनाको संक्रमण रोक्नका लागि प्रदेशमा आवश्यक सबै सामग्री खरिदका लागि टेण्डरमार्फत खरिद गरिएको बताए । उनले २÷३ दिनभित्रै प्रदेशमा सामग्रीहरू आइसक्ने बताए । उनले प्रत्येक स्थानीय तहलाई समेत ५÷५ लाख बराबरको आवश्यक सामग्री खरिद गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताए ।

लक डाउन गरे पनि घर फर्कने क्रम रोकिएन
पश्चिमी सीमानाकासँगै कञ्चनपुरको महेन्द्रनगर बजारलाई लक डाउन गरे पनि भारतमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम रोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राती १२ बजेबाट लक डाउनको घोषणा गरे पनि सोमबार बिहान पनि भारतमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम नरोकिएको हो । स्थानीय प्रशासनले आकस्मिक उपचारबाहेक निस्कन प्रतिबन्ध लगाएपछि सोमबार महेन्द्रनगर, झलारी, दैजी, बेलौरी लगायतका साना–ठूला बजार बन्द गरिएको छ । यस्तै, लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधनमा पनि रोक लगाउनुका साथै सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । तर, पश्चिमी सीमानाका गड्डाचौकी नाका हुँदै भारतमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम भने सोमबार पनि जारी छ । मंगलबार बिहान गड्डाचौकी नाकाबाट ४ सय ७४ जना नेपालीहरू भित्रिएको गड्डाचौकी हेल्थ डेस्कले जनाएको छ ।
कोरोना परीक्षणका लागि गड्डाचौकी हेल्थ डेस्ककमा कार्यरत अहेब निर्मला जोशीका अनुसार बिहान ५ बजेदेखि १० बजेसम्म ४ सय ७४ जना नेपाली नाकाबाट भित्रिएका छन् । यसैबीच, भारतको उत्तराखण्ड सरकारले समेत सोमबारबाट मार्च ३१ तारिकसम्म लक डाउनको घोषणा गरेको छ ।

अत्यावश्यक बाहेकका व्यवसाय बन्द
सिन्धुलीको कमलामाई नगरपालिकाले नगर क्षेत्रभित्रका अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द गर्ने निर्णय गरेको सिन्धुली समाचारदाता कृञ्जला पुलामी जनाएकी छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यका लागि नगरप्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले संक्रमण भित्रिन नदिन यस्तो निर्णय गरेको हो ।
बैठकले चैत ११ गते बिहानदेखि चैत २१ गतेसम्म अत्यावश्यक वस्तुहरू औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, इन्धनबाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको छ । कमलामाई नगरपालिकाका हरेक स्वास्थ्य चौकीमा हेल्थ डेस्क स्थापना गरी चेक जाँचलाई तीव्रता दिने, यातायातको साधन जिल्लाभित्र मात्र सञ्चालन गर्ने, बाहिरी जिल्लाको आवगमनमा रोक लगाउने, नगर क्षेत्रभित्र क्वारेन्टाइन बनाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष अमृत श्रेष्ठले आवश्यक परेको बेला जिल्लाका सबै होटललाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न उपलब्ध गराउने बताए । उनका अनुसार जिल्लाका होटलहरूमा ६ सय एटेजसहितका कोठा छन् ।
यसैबीच तिनपाटन गाउँपालिकाले पनि सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले दुई स्थानमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । लाम्पान्टार बहुमुखी क्याम्पसमा र चकमके बजारमा हेल्प डेस्क सञ्चालनमा ल्याइएको अध्यक्ष कर्ण थापा मगरले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरस संक्रमणबाट बच्न र सम्भावित जोखिम आँकलन गरी विशेष तयारी गरेका छन् ।

पसल बन्द गर्दै गाउँ पस्दै
कोरोना भाइरसको संक्रमण बढ्ने त्रासले इलाम सदरमुकामका पसल ब्यवसाय बन्द भएको इलाम समाचारदाता टीका खतिवडाले जनाएका छन् । ब्यवसायीहरूको छाता संस्था उद्योग वाणिज्य संघले नै बुधबारदेखि लागू हुने गरी ब्यवसाय बन्द गर्न आग्रह गरे पनि पसल ब्यवसाय बन्द हुन थालेका हुन् । इलाम उद्योग वाणिज्य संघले नेपाल सरकारले तोकेका अत्यावश्यक बाहेकका उद्योग ब्यवसाय बन्द गर्न ब्यवसायीलाई आग्रह गरेको छ । ११ गतेदेखि लागू हुने गरी २१ सम्मका लागि ब्यवसाय बन्द गर्न आग्रह गरिएको वाणिज्य संघका महासचिव हेमन्त गौतमले जानकारी दिए ।
तर नेपाल सरकारले तोकेका अत्यावश्यक सामग्री बेचबिखन गर्न पसलहरू बन्द नगर्न निर्देशन दिइएको छ । वाणिज्य संघका अध्यक्ष इश्वरलाल चिपालु र महासचिव गौतमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आफू जोगिन र अरुलाई पनि जोगााउन आग्रह गरिएको छ ।
सुनचाँदि ब्यवसायी संघ इलामले पनि मंगलबारबाटै ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ । ब्यवसायी संघ इलामले पनि बाहिरबाट आएका मानिसहरूले संक्रमण बढाउने भन्दै ब्यवसाय बन्द गर्ने निर्णय भएको बताइएको छ । एसोसिएसन इलामका सन्तोष शंकरले ब्यवसाय चौपट हुने भए पनि रोगबाट बच्न सुरुमा नै सचेत गराउन पसल बन्द गरिएको बताए । चैत महिनामा खासै सुनको कारोबार नहुने भएकाले पनि सरकारले गरेको निर्णयलाई साथ दिन आफूहरूले पसल बन्द गरेको उनको भनाइ छ ।

बागलुङमा अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द
स्वास्थ्य चुनैतीलाई मध्यनजर गर्दै बागलुङमा अति आवश्यक बाहेक सम्पूर्ण पसल सोमबारबाट बन्द गरिएको हाम्रा समाचारदाताले जनाएका छन् । बागलुङ उद्योग बाणिज्य संघ र जिल्लास्थित वस्तुगत संघहरूको सोमबार बसेको संयुक्त बैठकले कोरोना भाइरसको सन्त्रास बढ्दै गइरहेको अवस्थालाई मध्यनगर गर्दै अतिआवश्यक पसलबाहेक अन्य सम्पूर्ण उद्योग पसल बन्द गर्ने निर्णय गरेको हो ।
संयुक्त बैठकले ६ बुद्दे प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, गण्डकी प्रदेश लगायतको आह्वानमा अति आपत्तकालीन अवस्था देखिएकाले अतिआवश्यक खाद्य सामग्री, दूधजन्य, पानी, औषधि तथा सरसफाइका सामग्री, तरकारी, ग्यास, डिजेल, पेट्रेल, मट्टीतेल लगायतका सामग्री बाहेकका अन्य सबै प्रकारका उद्योग तथा पसल चैत २१ गतेसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको उद्योग बाणिज्य संघका महासचिव नरेश कँडेलले जानकारी दिए ।

मन्थलीमा हेल्थ डेस्क
मन्थली नगरपालिकाले रामेछाप र ओखलढुंगा जिल्लाको प्रवेशद्वारको रुपमा परिचित मन्थलीको भैसेश्वर चोकमा कोरोना रोग परीक्षणका लागि हेल्प डेस्क सञ्चालन गरेको छ । नगरपालिकाले राजधानी काठमाडौं र तराईबाट आएका यात्रीको स्वास्थ परीक्षण गरी सम्भावित संक्रमणलाई न्यूनीकरण गर्नका लागि सोमबारबाट हेल्प डेस्क सञ्चालनमा ल्याएको हाम्रा समाचारदाताले जनाएका छन् । हो ।
सरकारले छिमेकी मुलुकसँगंको नाकाबन्द गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाएको भए पनि अन्य सवारीसाधनबाट राजधानी काठमाडांै र तराईको भू–भाग हँुदै आउने यात्रीको चापलाई मध्यनजर राखी स्वास्थ परीक्षण गर्नका लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले बताए ।

ब्यापार ब्यवसाय बन्द गर्ने निर्णय
कोरोना संक्रमण न्यूनीकरण गर्न संखुवासभा उद्योग वाणिज्य संघले जिल्लाभित्रका ब्यवसायीलाई पसल बन्द गर्न आग्रह गरेको हाम्रा समाचारदाताले जनाएका छन् ।
आइतबार संघको सचिवालयमा बसेको बैठकले दैनिक आवश्यकताका सामग्री बाहेक अन्य सबै ब्यापार ब्यवसाय उद्योग कलकाराखाना ७ दिनका लागि बन्द गर्न आग्रह गरेको हो । कुनै पनि समयमा संक्रमण फैलनसक्ने भएकाले भीडभाड नगर्न, अत्यावश्यक सेवा लिनबाहेक घरबाट बाहिर ननिस्कन, जथाभावी अनावश्यक र अपुष्ट खबरका पछि नलाग्न र सेल्फ होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै संघले बजार र पसल बन्द गर्न आग्रह गरेको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिए । संघले ब्यापार ब्यवसाय बन्द गर्न आग्रह गरेपछि आईतबार दिउँसोदेखि नै संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर, तुम्लिङ्टार, मानेभञ्ज्यांङ, खराङलगायतका बजार क्षेत्र सुनसान बनेका छन् ।

काभ्रेका स्थानीय तहमा कोरोना सचेतना
काभ्रेमा रहेका १३ स्थानीय तहले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको काभ्रे समाचारदाता कपिल कोइरालाले जनाएका छन् ।
व्यवसायीहरूले चैत १० गतेदेखि चै २१ गतेसम्म सरकारले तोकेका अत्यावश्यक सेवाबाहेकका सबै सेवा स्थगित गरेका हुन् । त्यस्तै नगरपालिका तथा गाउँपालिकाहरूले स्वःघोषित कफ्र्युसमेतको घोषणा गरेका हुन् ।
काभ्रेको पाँचखाल नगरपालिकाले नगर प्रमुख महेश खरेलको संयोजकत्वमा आइतबार बसेको बैठकले चैत १० देखि २१ गतेसम्म नगर क्षेत्रमा घरभित्रै बसी स्वःघोषित कफ्र्युमा सहयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले अनुरोध गरेपछि पाँचखाल उद्योग बाणिज्य संघको सहयोगमा नगरभित्रका पसलहरू बन्द भएका छन् । पाँचखालको बजार सुनसान भएको छ । बैठकले भीडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ । पाँचखाल नगरले काभ्रेका स्थानीय तह मध्ये पहिलो आइसोलेसन कक्ष निर्माण गरेको छ । पाँचखाल ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शैयाको आइसोलेसन कक्ष र पाँचखाल ३ मा रहेको समाज कल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन वार्ड बनाउने निर्णय गरेको छ । त्यस्तै जिल्लाको रोशी गाउँपालिकाले मंगलटार स्वास्थ्य चौकी वा मंगल जनविजय माध्यमिक विद्यालय र लक्ष्मी नारायण माध्यमिक विद्यालय शिखर आम्बोटेलाई क्वारेन्टाइनस्थल तोकेको छ ।

रुकुम पश्चिममा ५ बेडको आइसोलेसन र ५० बेडको क्यारेन्टाइन
विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोराना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि रुकुम पश्चिममा पनि सक्रियता बढाएको रुकुम समाचारदाता मेगराज खड्काले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामा कोरोना भाइरस भित्रिन नदिन जिल्लामा यात्रु भित्रिने ठाउँहरूमा स्वास्थ्य चेकजाँच पोष्ट स्थापना गरेर चेकजाँचमा कडाइ गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ५ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । त्यस्तै कोरोना शंकास्पद ब्यक्ति उपचारका लागि आएमा जिल्लाभर ५० बेड बढीको क्यारेन्टाइन कक्ष स्थापना गरिएको छ । जसमा स्वास्थ्य संस्थासँगै नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले पनि क्यारेन्टाइन बेडहरू स्थानापना गरिसकेका छन् ।
त्यस्तै जिल्लास्थित केही होटल र शैक्षिक संस्थाको भवनमा पनि क्यारेन्टाइन कक्ष स्थापनाको तयारी भइरहेको छ ।

जुम्लामा चैत १६ सम्म ‘लक डाउन’
नोभेल कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि जुम्लामा एक सातासम्म जनता कफ्र्यु ‘लकडाउन’ गरिने निर्णय गरिएको छ । आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गतेसम्म जुम्लामा ‘लकडाउन’ गरिने निर्णय गरेको हाम्रा समाचारदाताले जनाएका छन् । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक साताका लागि ‘लकडाउन’ नीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
उनका अनुसार मानिसको भीडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आवश्यक छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागत योग्य भएको बताए । उनले भने, “आइतबार नै जुम्ला विमानस्थल तथा नाग्म जुम्लाको सिमाना नाग्ममा हेल्थडेस्क स्थापना गरिएको छ ।