कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
360

धनकुटा- बसाइँ सराइका कारण बस्ती सुनसान हुँदै गएको छथरजोरपाटी गाउँपालिकाको वडा नं ३ र ४ मा प्रदेश सरकारले धनकुटाको बिहीबारे, वञ्चरे, लामिछानेडाँडा हुँदै तेह्रथुम जिल्ला जोड्ने सडकको निर्माण गर्ने भएपछि यहाँका स्थानीयले पुख्र्यौली घरबारी बेचबिखन गर्न छाडेका छन् ।
सडक निर्माणका लागि टेन्डर आह्वान भएसँगै यसक्षेत्रका स्थानीय घरजग्गा बेचबिखन गर्न छाडेका हुन् । केही महिना अघिसम्म ज्यादै कम मूल्यमा घर जग्गा बिक्री गर्दै आएका स्थानीयले अहिले घरजग्गा बिक्री नै गर्न छोडेको स्थानीय मेघराज खतिवडाले बताए । उनले भने, “सडक बन्ने पक्का भएसँगै केही महिना अघिसम्म ज्यादै कम मूल्यमा घरजग्गा बिक्री गर्दै आएका स्थानीय र थाकथलो छोडी बसाइँ सराइ गरेकासमेत अहिले जग्गा बेचबिखन गर्न छाडेका छन् । केही वर्षअघि बसाइँ सराइ गरी तराई झरेका साविक तेलिया गाविस हाल छथरजोरपाटी–४ का भवानीप्रसाद आचार्यले भने, “पहाडको घरबारी बेच्ने कुरा थियो, तर अब सडक बन्ने भएपछि जग्गा बेच्ने कुरा रोकिएको छ ।”

त्यस्तै बसाइँ सराइ गरी तराई झरेका विक्रम गिरि पनि जग्गा बिक्री नगर्ने निष्कर्षमा पुगेको बताउँछन् । उनले पहिला सबै कुराको असुविधा थियो सडक पहुँच थिएन तर अब सडक बन्ने भएपछि जग्गा जमिन नबेच्ने बताउँछन् ।
सडक बन्ने भएसँगै स्थानीयले छोडिसकेका घरसमेत मर्मत सुरु गरेको अर्का स्थानीय खड्ग गिरि बताउँछन् । उनले भने, “पहिला सबैले घर छोडे जग्गाजमिन बाँझा बनाए, तर अहिले सडक बन्ने भएसँगै घरबारी रेखदेख गर्न र उद्यम गर्ने योजना बनाउँदै गाउँघर आउन थालेका छन् कतिपयले काम नै सुरु गरिसके ।” स्थानीय तहले समेत अहिले यी क्षेत्रमा कुन व्यवसाय गर्ने र आयआर्जन बढाउन सकिन्छ भन्ने योजनासमेत बनाउन थालेको बताउँछन् ।