अमरराज आचार्य
शुक्रवार, माघ १०, २०७६
364

दाङको घोराहीमा रहेको कारागारमा कैदी बन्दीलाई शिक्षा दिन थालिएको छ ।
कारागारले विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदीबन्दीलाई कारागारभित्र ‘ज्ञानज्योति स्कुल’ सञ्चालन गरेर शिक्षा दिन थालेको हो । कारागारमा सजाय दिने थलो मात्रै नभएर गलत बाटोमा लागेको व्यक्तिलाई सुधार गरेर लैजाने सुधार केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले स्कुल सञ्चालन गरिएको घोराही कारागारका जेलर विष्णुप्रसाद पाण्डेले बताए । “कारागारमा रहेका निरिक्षर कैन्दी बन्दीलाई भित्रै शिक्षा दिने उद्देश्यले हामीले ज्ञानज्योति नाम दिएर कक्षा सञ्चालन गरेका छौं,” जेलर पाण्डेले भने, “कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्नका लागि हामीले प्रयास गरेका छौं ।” कारागार व्यवस्थापन अनुसार कारागारमा सञ्चालन गर्नुपर्ने साक्षरता कक्षा भए पनि कैदीबन्दीहरूको मागअनुसार अंग्रेजी भाषाको कक्षा पनि सञ्चालन गरिएको जेलर पाण्डेले जानकारी दिए ।

कक्षा सञ्चालनका लागि जेल जीवन बिताइरहेका कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्र्तीण गरेको राम्रो आचारण भएको व्यक्तिलाई शिक्षकको रूपमा नियुक्त गरेर कक्षा सञ्चालन गरिएको उनको भनाइ छ । जसअनुसार उक्त व्यक्ति अर्थात् ‘शिक्षक’ ले पढाएवापत तलब भने पाउँदैनन् तर मासिक ५ दिनको कैद मिनाहसहित वर्षमा २ महिना कैद मिनाह पाउने व्यवस्था रहेको जेलर पाण्डेले बताए ।
घोराही कारागारभित्र करिब ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका, ७० प्रतिशत कक्षा ७ भन्दा माथिको अध्ययन र बाँकी निरक्षर अवस्थाका कैदीबन्दीहरू रहेको कारागार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि यस प्रकारको कक्षा सञ्चालन गरिएको नेपाली र अंग्रेजी भाषा गरी दुई वटा कक्षा चलाइएको समेत उनले बताए । १५ देखि २० जना कैदीबन्दीहरू विद्यार्थीका रूपमा अध्ययन गरिरहेको समेत उनले बताए । कक्षा दैनिक बिहान २ घण्टा र साँझ २ घण्टा गरी चार घण्टासम्म चल्ने गरेको छ । “कारागारमा धेरै कैदीबन्दी रहे पनि सुरु भएकाले अहिले थोरैले मात्र अध्ययन गर्ने गरेका छन्,” उनले भने, “स्कुललाई प्रभावकारी बनाउन सकियो भने पढ्ने कैदीबन्दीहरू बढ्नेछन् ।”
घोराही कारागारमा अहिले ३ सय ८ जना कैदी बन्दी बस्दै आएका छन । कारागारको क्षमता ७० जनाको भएता पनि कारागारको क्षमताभन्दा ३ सय ८ जना कैदीबन्दी रहेको जेलर पाण्डेले जानकारी दिए । उनका अनुसार कारागारमा १ सय ७८ बन्दी र १ सय २७ कैदी छन् । जसमा ८ जना विदेशी नागरिकले सजाय काटिरहेका छन् । कारागारको क्षमताभन्दा धेरै कैदीबन्दीहरू हुँदा सुत्न, शौचालय प्रयोग गर्नलाई समस्या हुँदै आएको छ ।