कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
629

सिन्धुपाल्चोक-विभिन्न खाद्य तथा नगदे बाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानहरुले त्यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।  किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ ।
खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानहरुले किवी, कागती, चिया, टिम्मुरलगायत रोप्न थालेका छन् । वैकल्पिक खेतीप्रति चासो नदिएका किसानहरु सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै यसतर्फ लागेका हुन् । बाँदरले सताएपछि हेलम्बु गाउँपालिका ४ गैँटारका किसानहरुको बाँझो रहेको झण्डै चार सय रोपनी खेतीयोग्य जमिनमा अहिले कागती खेती गरिएको छ ।

मलिलो जमिन, सिँचाइको व्यवस्था, राम्रो उत्पादन हुने भएपनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैन थिए । “बाँदरले धेरै नै दुख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानहरुले व्यवसायिक कागती खेती सुरु गरेका छन्,” स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, “धान, मकैजस्ता खाद्य बाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।” उनले अहिले भने किसानले बाँदरलाई झुक्याउन सफल भएको बताए ।कागती खानका लागि बाँदर नआएको हैन ।
निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाइ छ । कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदरहरु घाइते हुने गरेपछि कागती खान बाँदर नआउने गरेको हो । घर आसपासका जमिनमा खेती  गरेपनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन कागती खेतीको सुरु गरिएको स्थानीय लालनाथ लामिछानेले बताए । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा ३ सय बोट कागतीका विरुवा रोपेको उनले बताए ।घर आँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कका किसानले पनि सामुहिक चिया खेतीको सुरुवात गरेका छन् । परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चिया खेती सुरु गरिएको मन्जुश्री चिया, कफी, अलैंची उत्पादक कृषक समुहका अध्यक्ष रेक्पा तामाङको भनाइ छ ।
‘चियामा फल हुँदैन, पात टर्राे हुने भएपछि बाँदर लाग्दो रहेनछ ।’ उनले भने । पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोशी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाको भोटेचौर, हैबुङमा चिया खेती विस्तार गरिएको हो ।बाँदरले सताएपछि वैकल्पिक खेतीका रुपमा किसानले किवी र टिम्मुर लगाएका छन् । इन्द्रावती गाउँपालिका १ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले हैरानी गरेपछि गाउँभर किवी खेती लगाउन सुरु गरिएको छ । समुन्द्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको यो गाउँमा उत्पादित आलु, मुला अहिले लोप भइसकेको अवस्था छ । यहाँका आलु, मुुला सदरमुकाममा मात्रै नभइ काठमाडौंसम्म खपत हुन्थ्यो । “बाँदरले जमिन खनेर भएपनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्ने अवस्था आयो,” शान्ति भन्छिन्, “बाँदरबाट जोगाउन अहिले सबैले किवी खेती गरेका छन् ।” उनका अनुसार किवी बाँदरले खाँदैन ।
सरकारले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकिरहेको बेला किसानले व्यावसायिक रुपमा वैकल्पिक खेतीको सुरुवात गरेका हुन् । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारीको वातावरण सिर्जना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् ।बाँदरले दुःख दिएपछि वर्षदिन अघि जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँसभाबाट बजेट विनियोजनसमेत गरेको थियो । पालिकाको वडा नं. ३ मा बाँदर नियन्त्रण भनी पाँच लाख विनियोजन गरिएको हो । तर, नियन्त्रण भने हुन सकेको छैन ।
किशोर बुढाथोकी