कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
325

बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको अवसरमा माघ ११ गते शनिबार बिहान साढे ७ बजेदेखि साढे १० बजेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालय पछाडि बागमती किनारमा विशेष कायक्रम आयोजना हुने भएको छ । झण्डै ७ वर्षअघि ०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको यो राष्ट्रिय अभियान अटुट रुपमा हरेक शनिबार बिहान संचालन हुँदै आएको छ ।
नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक-धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डटकम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता भएको छ ।

यसमा विदेशबाट आएका विशिष्ट व्यक्तित्व, नेपालस्थित विदेशी नियोगका कर्मचारीहरुले पनि सहभागिता जनाएका छन् । ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको र करिब १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दिइसकेका छन् ।
शुरुमा बाग्मती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बाग्मतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार भएको छ । त्यस्तै उपत्यकाबाहिर करिब ९० स्थानभन्दा बढी सहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ ।