कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
380

लमजुङ-विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ पुगेका चार विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गत पाँच हजार चार सय १६ मिटर उचाइको थोराङला पास गर्न गएका चारजना विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएका चार जनामध्ये दुई महिला र दुई पुरुष छन् । सम्पर्कविहीन हुनेहरूमा पर्यटकहरू ह्वाङ यिविन, क्याटसियु टिङ, मा क्आिन्ली र अन्वद झाड छन् । भारी हिमपातपछि हाल मनाङको सञ्चार सेवा अवरुद्ध भएकाले उनीहरूसँग सम्पर्क हुन नसकेको एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । “माथिल्लो मनाङमा अहिले सञ्चार छैन,” तिरुवाले भने, “जिल्लामा हालसम्म कुनै विपत्तिका घटना नभएकाले उनीहरू सम्पर्क नभए पनि सकुशल छन् भन्ने अनुमान गरेका छौं ।”
तीन दिनदेखि भारी हिमपात परिरहेका बेला माथिल्लो मनाङ पुगेका पर्यटकहरू सम्पर्कविहीन भएपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । मनाङमा हाल कुनै पनि विपत्तिका घटना नभएकाले उनीहरू सम्पर्कविहीन भए पनि सकुशल रहेको अनुमान गरिएको छ ।
गत पुस २७ गते मनाङको भ्राकाबाट प्रवेश गरेका उनीहरू हालको समयसम्म मुस्ताङको मुक्तिनाथ पुग्नुपर्ने भए पनि भारी हिमपातपछि कुनै होटलमा सकुशल रहेको हुनसक्ने अनुमान गरिएको तिरुवाले बताए ।

हिमपात र अत्यधिक चिसोले जनजीवन कष्टकर
तीन दिनदेखिको लगातार हिमपात र अत्यधिक चिसोका कारण जिल्ला मनाङको जनजीवन कष्टकर भएको छ । गत बिहीबार बिहानैदेखिको निरन्तर हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको हो ।
मनाङको सदरमुकाम चामे गाउँपालिकाको तिमाङदेखि माथिल्लो भागमा बिहीबार बिहानदेखि हिमपात भएको हो । शुक्रबार साँझबाट हिमपात रोकिए पनि शनिबार मध्यान्हबाट फेरि हिमपात सुरु भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद आचार्यले बताए । “हिजोबाट हिमपात रोकिएला जस्तै भएको थियो, तर आज मध्यान्हबाट फेरि हिउँ पर्न थालेको छ,” आचार्यले भने, “बाक्लो हिउँ र चिसोले बाहिर हिँडडुल गर्नसक्ने अवस्थानै छैन ।”
सहायक प्रजिअ आचार्यका अनुसार सदरमुकाम चामेसम्मको क्षेत्रमा हिउँसँगै झरी पनि परेको थियो । हिमपात र झरीका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणहरू घरबाहिर हिँडडुल समेत गर्न सकेका छैनन् । सदरमुकाम चामे भन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिमवर्षा भएको स्थानीयले बताएका छन् ।
अत्यधिक चिसोका कारण सदरमुकाम चामेमा नेपाल टेलिकमको मोवाईल र इन्टरनेट सेवा अवरुद्ध भएको छ विद्युत् सेवा पनि अधिकाँश समय अवरुद्ध हुने गरेको छ । बेला बेलामा एनसेलबाट सञ्चार सम्पर्क गर्न सकेको सहायक प्रजिअ आचार्यले बताए । लगातार हिमपात र झरीसँगै अत्यधिक चिसो भएपछि मनाङका कार्यालयहरूमा सेवाग्राही शून्य भएको समेत सहायक प्रजिअ आचार्यले बताए । उनका अनुसार हिमपात अघि अत्यन्त महत्वपूर्ण काम भएका न्यून सेवाग्राही आउने गरे पनि हिमपात सुरु भएपछि सेवाग्राही कोही पनि नआएका हुन् ।
सदरमुकाम चामे भन्दा माथिल्लो क्षेत्र ङिस्याङ र नार्फाभुमी क्षेत्रमा पनि अत्यधिक हिमपात भएको छ । बाक्लो हिमपातका कारण जनजिवन प्रभावित भएको ङिस्याङ–१, पिसाङका याङडु गुरुङले बताए । जमिनमा तिनफिट सम्म हिउँ परेकोले घर बाहिर निस्किएर हिडडुल गर्न समस्या भएको गुरुङले बताए । चिसो बढ्न थालेपछि एक महिनाअघि नै अधिकाँश स्थानीयले जिल्ला छाडिसकेका छन् । विशेषगरी माथिल्लो मनाङका बासिन्दा जिल्ला छाडेर लमजुङ, काठमाडांै, पोखरालगायत अयन्त्र गएका हुन् ।

सन्देश पौडेल