दिलबहादुर केसी
आइतवार, माघ ५, २०७६
624

दोलखा-एक हप्ता अघि कालिञ्चोक गाउँपालिका वडा नं. ६ थाङबारुका किसानहरुले सामुहिक रुपमा किविका विरुवा रोपे । किसानहरुको साथमा गाउँपालिका अध्यक्ष विनकुमार थामीसहितका जनप्रतिनिधि र सरोकारवालाहरु सहभागी भए ।
३४ जना किसानको २१६ रोपनी जग्गाको एउटै प्लट बनाएर रोपिएको किवि खेतीमा गाउँपालिकाले अभियानकै रुपमा लिएको छ । एक वडा एक फलफूल पकेट क्षेत्र अभियान थालेको कालिञ्चोक गाउँपालिकाले वडा नं. ६ को थाङबारुमा किवि पकेट क्षेत्र बनाएको अध्यक्ष विनकुमार थामीले बताए ।

थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने भएपछि किसानहरु पनि यस अभियानमा उत्साहित भएर लागेका छन् । पछिल्लो समय पहाडी क्षेत्रका किसानहरु खेती गर्न छाडेर जग्गा बाँझो राख्ने क्रम बढ्दै गएपछि सर्वत्र चिन्ताको विषय बनिरहेका बेला कालिञ्चोक गाउँपालिकाले त्यसता ठाउँमा फलफूल खेतीको अभियान सुरु गरेको हो ।
थाङबारुमा पनि विगतमा खेती गरेर छाडिएको बुट्यान भएका जग्गा र केही खेती भइरहेका जग्गा सदुपयोग गरी किवि रोपेका हुन् । गाउँपालिकाको अभियानलाई प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्तर्गतको किवि जोन कार्यालय दोलख, केही गैरसरकारी संस्थाले समेत सघाएका छन् । किवि जोनले किसानलाई तालिम दिएको छ । तालिम, खाल्डो तयारी र मलको व्यवस्थापनपछि गाउँपालिकाले किविका विरुवा निःशुल्क उपलब्ध गराएको हो ।
अहिले विरुवा रोपे पनि अब सिंचाइ र थाङ्ग्राको आवश्यकता पर्छ । सिँचाइ गाउँपालिकाले र थाङ्ग्राका लागि किवि जोनलाई व्यवस्थापनका लागि आग्रह गरेको अध्यक्ष थामीले बताए ।
“अहिले यहाँको २ सय १४ रोपनी जमिनलार्ई किवि पकेट क्षेत्रका रूपमा विकास गर्दै छौँ,” थामीले भने “३४ जनाको नाममा जग्गा भए तापनि पकेट क्षेत्र बनाएपछि अंशवण्डा गरी १ सय ३४ जनामा पुगेको छ ।”
पाखो बाँझो जग्गामा पनि सजिलै किवि खेती हुन सक्ने भएपछि यस क्षेत्रका किसानहरु किवि खेतीप्रति आकर्षित भएका हुन् । रोपेपछि वर्षमा एक पटक काँटछाँट र सिँचाइको व्यवस्था मात्र गर्दा पनि राम्रै आम्दानी लिन सकिन्छ । रोपेको ३ वर्षदेखि फल्न सुरु गर्ने किविको एउटा वयस्क बोटबाट एक सय किलोसम्म फल लिन सकिने किवि जोन दोलखाका प्रमुख मोहनप्रसाद खतिवडाले बताए । एक पटक रोपेपछि ६० वर्षसम्म फल लिन सकिन्छ ।
थाङबारुमा किवि रोप्नका लागि नाम्सालिङ सामुदायिक विकास केन्द्र र फासेलुङ संस्थाले पनि सहयोग गरेको छ । पहिलो चरणमा २ हजार ५ सय १८ वटा किविका बिरुवा निःशुल्क वितरण गरिएको गाउँपालिकाको सहयोगी संस्था नाम्सालिङका जिल्ला संयोजक राजन क्षेत्रीले जानकारी दिए । गाउँपालिकाले बजारीकरणसम्मको व्यवस्थापनका लागि सघाउन लागेको छ ।
दुर्गम लेकमा रहेको यो गाउँको आफ्नो जमिनमा किवि लगाउन पाउँदा स्थानीय खुशी छन् । “अब यी बिरुवालाई संरक्षण गरेर हुर्काउँछौँ र गाउँलाई किविको बगैँचाले हराभरा बनाउँछौँ,” स्थानीय बुधमाया थामीले भनिन् ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत दोलखामा ९ हजार रोपनी जग्गामा किविको व्यावसायिक खेती सुरु गरिएको छ । किवि जोन कार्यालयका प्रमुख मोहन खतिवडाका अनुसार यो वर्ष मात्रै झन्डै ५ सय मेट्रिकटन किवि उत्पादन भएको छ ।