कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
440

काभ्रे-‘कृषि यान्त्रीकरण प्रयोगमा वृद्धि, पाँचखाल नगरको समृद्धि’ भन्ने मूल नाराका साथ पाँचखाल नगरपालिका–८ ले कृषिको आधुनिकीकरण र ब्यवसायीकरणमा सहयोग पु-याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ३० थान हाते ट्रयाक्टर किसानलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
पाँचखाल नगरपालिकाका कार्यबाहक नगर प्रमुख संजय लामाले किसानहरूलाई ट्रयाक्टर हस्तान्तरण गरेका हुन । एक ट्रयाक्टर बराबर पाँचजनाको कृषक समूहलाई हस्तान्तरण गरिएको नगर प्रमुख लामाको भनाइ छ । ट्रयाक्टर हस्तान्तरणको उद्देश्य भनेको भोलिका दिनमा ब्यावसायिक खेती गर्ने किसानलाई उत्प्रेरित गर्नु भएको लामाले बताए । कार्यबाहक प्रमुख लामाले गाउँघरमा सिंहदरबारको अधिकार आउनुपथ्र्याे तर सिंहमात्र आयो भन्ने गरेको सुनिन्छ तर हामी सिंह (शासक) होइनौ हामी हजुरहरूको सेवकमात्र हौं त्यसैले जति सक्छौं सेवा गर्छौ । हाम्रो काम सेवा र सहयोगबाहेक अन्य केही नभएको उनको भनाइ छ ।

ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेश पौडेलले जनताले घर दैलोमै सरकार आएको महसुस हुने गरी यस्तै कार्यक्रम र सहयोग गर्न जनप्रतिनिधिलाई अनुरोध गरे ।
प्राविधिक सहयोगी संस्था ओम सत्य साइ मेसिनरी कन्सर्नका प्रोपाइटर सञ्जिव श्रेष्ठले मन्तव्यसहित ट्रयाक्टरका विशेषता र प्रयोगको तरिकाका बारेमा अनुशिक्षण गराएका थिए ।
वडा कार्यालयको कृषि बजेटमार्फत अनुदान सहयोगमा ट्रयाक्टर हस्तान्तरण गरिएको थियो । ट्रयाक्टर हस्तान्तरणपछि १ सय ५० किसान प्रत्यक्ष लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।