कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
487

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले माघे संक्रान्ति मनाउन प्रदेशभर एक दिन बिदा दिने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरेर माघ १ गते बिदा दिएको जनाएको हो । तर थारु समुदायको बाहुल्य रहेको कैलारी गाउँपालिकाले माघी मनाउने तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिएको हो ।

थारु समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघ थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व रहेकाले तीन दिन बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वका लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोहीअनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले जनाए ।
यसैगरी, गाउँसभाको बैठकमा कैलारी खेलकुद सञ्चालन कार्यविधि २०७६ माथि दफावार छलफल भएको छ । सोमबारको बैठकमा भागुदास चौधरी, प्रेमबहादुर चौधरी, कैलाश चौधरी, विष्णुप्रसाद चौधरी र कमलप्रसाद चौधरीले छलफलमा भाग लिएका थिए । उनीहरूले युवा तथा खेलकुद कार्यक्रमको बारेमा बोेलेका थिए । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा बाँकी विधेयकलाई माघ १२ गते बस्ने गाउँसभाको बैठकमा विधेयक समितिले अगाडि बढाउने प्रस्ताव स्वीकृत भएको जनाइएको छ ।