कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
568

धनगढी-भारतको उत्तर प्रदेश सरकारले कैलालीको धनगढीसँग जोडिएको गौरीफण्टा नाकालाई लक्षित गरी प्लान्ट क्वारेन्टाइन राख्ने भएको छ । भारत सरकारले नेपाल–भारत आयात निर्यात हुने कृषिजन्य वस्तु आयात निर्यातलाई सहज बनाउनका लागि उत्तर प्रदेशस्थित पलियामा प्लान्ट क्वारेण्टाइने राख्ने निर्णय गरेको हो । गौरीफण्टाका कष्टम एजेण्ट नगेन्द्र चौधरीले गौरीफण्टामै क्वारेण्टाइन राख्ने भनिएपनि दुधुवा राष्ट्रिय निकुञ्जले जग्गा दिन नमानेकाले पलियामा राखिन लागेको बताए । उनले निकुञ्जबाट जग्गा प्राप्त भए नाकामै क्वारेण्टाइन स्थापना गरिने बताए ।
उत्तर प्रदेश सरकारले २०१९ नोभेम्बर १४ मा गौरीफण्टा नाकामा प्लाण्ट क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो । नोभेम्बर १४ मा गरेका निर्णयका आधारमा उत्तर प्रदेश सरकारले डिसेम्बर १६ मै गौरीफण्टा नाकामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको भएपनि जग्गा प्राप्तिको प्रक्रिया नमिलेकाले ढिलाइ भएको बुझिएको पशु क्वारेण्टाइन गड्डाचौकीका प्रमुख देवराज खातीले बताए ।
गड्डा चौकीमा दुवै देशका सीमानातर्फ प्लान्ट क्वारेन्टाइन भएपनि पुल नहुँदा कृषिजन्य वस्तु आयात निर्यात हुन नसकेको प्रमुख खातीले बताए । ‘गौरीफण्टामा भारतको क्वारेन्टाइन नै नहुँदा किसानले निर्यातका लागि समस्या भोग्दै आएका थिए,’ उनले भने, ‘अब त्यो समस्या समाधान हुन्छ ।’
भारतले गौरीफण्टा नाकामा क्वारेन्टाइन राखेपछि आयात तथा निर्यात सहज हुने व्यवसायीको भनाई छ । यसअघि विषादी परीक्षणका लागि व्यवसायीहरुले भारतको दिल्ली तथा लखनउमा धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । व्यवसायीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ भन्दा यता नरहेको प्लाण्ट क्वारेन्टाइन सीमा क्षेत्रमा विस्तार भएपछि निर्यात गर्न सहज हुने छ ।
गौरीफण्टामा क्वारेन्टाइन नहुँदा नेपालमा उत्पादित तरकारी, फलफूल भारत लैजानु परेमा नेपालगञ्ज हुँदै लैजानु पर्ने व्यवसायीको बाध्यता हट्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले गौरीफण्टा नाका दुवै देशले प्लान्ट क्वारेन्टाइन स्थापना गरेसँगै तरकारी, फलफूल तथा अन्य कृषिजन्य उत्पादनलाई आयात निर्यात गर्न सहज हुने बताए । ‘यो हाम्रो वर्षौदेखिको माग हो’, उनले भने, ‘भारत सरकारले ढिलै भएपनि हाम्रो र त्यहाका व्यवसायीको मागलाई सम्बोधन गरेको छ ।’
यसैगरी, गौरीफण्टा नाकामा भारतको प्लान्ट क्वारेन्टाइन नहुँदा नेपालबाट निर्यात गर्दा वा भारतबाट कृषिजन्य वस्तु आयत गर्दा नेपालगञ्ज नाका प्रयोग गर्नुपर्ने बाध्यता छ । गौरीफण्टा नाकामा प्लान्ट क्वारेन्टाइन राख्ने भारतको निर्णयले सुदूरपश्चिमको कृषि उपजको अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो टेवा पुग्ने व्यवसायीहरुको भनाइ छ ।

 

मुकेश चौधरी