कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
628

बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिटले मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दा उनले बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत्, सडकलगायतका पूर्वाधारमा लगानी गर्न आग्रह पनि गरे ।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै अर्थमन्त्री खतिवडाले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गरे ।
भेटमा अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।
राजदुत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसगँ सहकार्य गर्दै अगाडि बढ्ने बताइन् । उनले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउँदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताइन् ।