कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
499

 
वास्तवमै नेपालको भौगोलिक अवस्था हेरी देशको विकास गर्ने हो भने हामीलाई तराईभरि रेलको सञ्जाल र पहाडमा टनेलको बाटोघाटो हुनैपर्ने हुन्छ ।

‘जयनगर–बर्दिबास रेल अबको केही दिनमा चल्छ’ भन्ने सुनेको पनि दुई वर्षभन्दा बढी नै समय बितिसकेको छ । आजको दिनमा अझ ‘केही महिनामा रेल चल्छ’ भन्ने सुनिन्छ, तर त्यसले कहिले साकार रूप लिने हो ? त्यो अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन ।

नेपालमा रेल र टनेलको अवस्था
करिब ९० वर्षपहिले राणकालमा सुरु गरिएको रेल रक्सौल–सिरसिया ६ किलोमिटर र जयानगर–जनकपुर २८ किलोमिटर हाल बन्द अवस्थामा छन् । यस्तैगरी राणकालमा नै सुरु भएको १ सय ४ वर्ष पुरानो सुरुङमार्ग मकवानपुरको चुरियामाई सुरुङमार्ग (७ सय मिटर) हालको अवस्थामा भग्नावशेष मात्र छ । हालको अवस्थामा ‘पूर्व–पश्चिम रेल’, ‘काठमाडौंमा रेल’, ‘फलानो ठाउँमा रेल’ भन्ने तमाम कुरा नआएका होइनन्, तर समाचार अध्ययनपछि त्यो रेलको कुरा बन्द छ । ल्हासा, काठमाडौं, पोखरा, लुम्बिनी रेल पत्रपत्रिकामा पढ्दापढ्दै उमेर जान थालिसकेको अनुमान गर्दैछौं । रेल नेपालका लागि अप्ठ्यारो छ तर पनि असम्भव छैन, तर पनि अहिलेसम्म असम्भवजस्तै सफल हुन सकेको छैन ।
टनेल (सुरुङमार्ग) नेपालमा प्रयोगमा नआएको होइन । तर त्यसलाई हामीले हाइड्रोपावरमा मात्र देखिरहेका छांै । सानाठूला सुरुङ नेपालमा बनिसकेका छन् । ती सबै हाइड्रोपावरका लागि मात्र प्रयोगमा आएका छन् । सडकका लागि यी सुरुङको प्रविधि कुनै फरक छैन, तर बन्न समय लाग्ने अवस्था छ । नेपालमा हालसम्म बनेको छैन ।

भारतको अवस्था
भारतमा करिब १ सय ६६ वर्षपहिले सन् १८५३ मा रेल चल्न थालेको थियो, जुन हालसम्म १ लाख २२ हजार किलोमिटर ट्र्याक खोली चलिरहेको छ, जसमा करिब ६ सय ५ बिजुलीबाट चल्ने ट्रेन छन्, तर हामी अहिले पनि करिब ४०–५० किलोमिटर रेल, त्यो पनि पुरानो प्रविधिलाई चलाउन सकिरहेका छैनौं । ४० किलोमिटर चलाउन खोज्दा मात्रै पनि दिपावली मनाउने अवस्था छ । यस्तो अवस्थामा हामी कसरी रेल चलाउन सक्छौं ? र कसरी अरू देशहरूसँग विकासको गति लिन सक्छौं ? यो आफैंमा एक विशाल प्रश्नका रूपमा उभिएको छ ।

भूबनोटको आवश्यकता सुरुङमार्ग
नेपालको भूबनोटलाई हेर्दा करिब २० किलोमिटर चढ्नु तथा २० किलोमिटर ओर्लिनुलाई बनाएको सडकमा सामान्य २ अर्ब पैसा खर्च हुन्छ, जुन ४ देखि ५ किलोमिटर सुरुङ सजिलै पुग्ने अवस्था रहन्छ । चियाबारीदेखि खुर्काेट उदाहरणका रूपमा लिन सकिन्छ । चियाबारी–खुर्कोटमा ५ देखि ६ किलोमिटर सुरुङमार्ग बन्ने अध्ययन गरिएको छ ।
देशले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरेको अध्ययनलाई हेर्ने हो भने सुरुङमार्ग हालको सडक भन्दा सस्तो पर्न जान्छ । सम्पूर्ण सवारी साधनमा भएको बढी इन्धन खर्च, सडक मर्मत खर्च, सवारी दुर्घटना अवस्था र खर्च, सुरक्षा निकाय तथा सरकारी स्रोतसाधन परिचालन खर्च, सम्पूर्ण सवारी साधन मर्मत खर्च, उचित व्यक्तिको खर्च, मानसिक तनाव खर्चजस्ता अनेकांै पक्ष हेर्दा टनेल नै सस्तो भएको देखिन्छ ।

नेपालमा टनेल इन्जिनियरिङ र त्यसको अर्थशास्त्र
नेपालमा केही टनेल इन्जिनियरिङमा विद्यावारिधि गरेर फर्केका मानव स्रोत छन् । केही मास्टर गरेका मानव स्रोत छन् । तर, अध्ययन गर्ने हो भने नेपालका ती मानव स्रोतले प्रयोगात्मक रूपमा कार्य गरेको अवस्था देखिंदैन । हालसम्म नेपालमा बनेको २ सय २० किलोमिटर सुरुङमा कुनै नेपाली इन्जिनियरले आफ्नै डिजाइन गरी सुरुङ बनाएको छ ? वा सहायोगी भूमिकामा काम गरेको छ ?
अध्ययनले कुनै पनि सुरुङमार्गमा काम गरेको देखिँदैन । सामान बोक्नेबाहेक अन्य मानसिक काम नेपाली मानव स्रोतले गरेको देखिँदैन । यसको अर्थ हामी सुरुङमार्गमा पूर्ण रूपमा शून्य अवस्थामा छौं । न कुनै सुरुङमार्गको अनुभव भएको इन्जिनियर छ, न कुनै कन्सल्टेन्सी छ वा न कुनै संस्था छ । तर, हामीलाई सबैभन्दा बढी सुरुङमार्गको आवश्यकता रहेको छ ।
राष्ट्रिय गौरवको आयोजनामध्ये एक आयोजना भेरी बबई डाइभर्सन आयोजनामा १२.२१ किलोमिटर सुरुङ दुई वर्षमा खनियो, जुन तोकिएको समयभन्दा एक वर्षअगावै बनाएको हो । यस कामले नेपालमा धेरै चर्चा पायो । चिनियाँ कम्पनी कोभेकले बनाएको यो मार्गमा कन्सल्टेन्सीका रूपमा इटलीको एक कन्सल्टेन्सी रहेको छ । तर, यो सम्पूर्ण कार्यमा न नेपाली कुनै इन्जिनियरले केही सिक्न पायो न कुनै कन्सल्टेन्सीले काम गर्न सक्यो । पर्याप्त मानवस्रोत र अनुभव नभएका कारण यस्तो भएको हो ।
वास्तवमा यो काम समयभन्दा पहिले भएकै हो, तर जुन डीपीआर गर्दा यति समय लाग्छ भनी विदेशी डीपीआर कम्पनीले गरेको थियो, त्यो बढी थियो । किनकि त्यो डीपीआर बनाउने चिनियाँ कम्पनीले नेपालको भूबनावट कस्तो छ र कति समय लाग्छ भन्ने अनुमान गर्न सकेको थिएन । यसैले डीपीआरमै समय बढी लाग्ने गरी तयार पारियो । साथै यस्तो विशिष्टीकरण लाग्छ भनी आफैं डीपीआर तयार गरेर त्यसैमा आफूले नै काम गर्दा समय भन्दा पहिले काम भएको देखिन्छ ।
४.२ किलोमिटरको डायमिटर सुरुङ १२.२१ किलोमिटर बनाउनका लागि कन्सल्टेन्सीमा करिब ५६.५ करोड तथा सुरुङ खर्चमा १०.५ अर्ब रहेको छ, जसका लागि टीबीएम मेसिनमा मात्र ३९ करोडको खर्च गरिएको छ । हामीले चीन जापानमा लाग्ने खर्चको तुलना गर्ने हो भने ४०–५० प्रतिशत रकम बढी हो । साथै समय पनि दुई वर्ष बढी नै हो । अब हामीले भन्न सक्छौं, यो सुरुङ ५–६ अर्ब र मात्र दुई वर्षमा बन्ने सुरुङ हो । यो प्रविधि हामीले आयातित गर्ने हो । तर, कन्सल्टेन्सी तथा सुरुङको कार्य नेपाली इन्जिनियर र नेपाली कामदारले मात्र गर्ने हो भने यो ४० प्रतिशत सस्तोमा हुने काम हो । यस्तै नागढुंगाको सुरुङ मार्ग पनि करिब १२–१३ अर्बमा बन्ने अवस्था छ । तर, डीपीआर नै यस्तो किसिमको बनाइएको छ कि जसमा रकम बढी लाग्छ, किनकि हामीसँग न सुरुङको डीपीआर बनाउन सक्ने मानव स्रोत छ, न सुरुङ बनाउन सक्ने नै, न सुरुङसम्बन्धी परामर्श दिन सक्ने नै ।

अब के गर्ने ?
नेपालमा सानाठूला सुरुङ मार्गका लागि १६ वटा स्थानको अध्ययन भएको छ । नागढुङ्गा सुरुङ मार्गको काम सुरु भइसकेको छ । सातवटा भन्दा बढी सुरुङ मार्गका लागि डीपीआरको अन्तिम तयारी भइरहेको छ । करिब २ हजार ५ सयदेखि २ हजार ७ सय किलोमिटर हाइड्रोपावरका सुरुङहरू अबको १० वर्षमा खन्नुपर्ने देखिन्छ । यी सबै नेपालको विकासका लागि राम्रा पक्ष हुन् । तर, यी सबै सुरुङ नेपालीले नबनाएर विदेशीले नै बनाउने हो भने हामी कहिल्यै बनाउने सक्दैनांै । सुरुङ इन्जिनियरिङ नेपालमा सुरु हुनु धेरै ठूलो सुरुवात हो तथा अब हामीले नेपालमा हुने जति पनि सुरुङमार्ग वा हाइड्रोपावरका सुरुङ छन्, यी सबैमा कम्तीमा ३० प्रतिशत नेपाली इन्जिनियर वा नेपाली प्रविधि कामदारले काम गर्नुपर्ने भन्ने अनिवार्य नियम लगाउनुपर्छ । कन्सल्टेन्सीको हकमा पनि नेपालले ३० प्रतिशत नेपाली इन्जिनियर राख्नुपर्ने नियम पालना गर्नुपर्ने हुुन्छ । तब मात्र हामी १० वर्षपछि सुरुङ मार्गमा आफैं सफल भई सुरुङ खन्न सक्ने अवस्थामा पुग्छांै । नत्र हेभी इक्विपमेन्ट मेसिनहरू हामीले विदेशबाट ल्याउनुबाहेक कुनै पनि विकल्प नभएको बेला मानवस्रोत तथा अनुभव पनि हामीले नलिने हो भने हामी विकास गर्न सक्दैनांै, चाहे त्यो रेलमा होस् या टनेलमा ।

अन्त्यमा
जुनसकै पनि प्रविधि निर्यात गर्दा बढी खर्च लाग्नु स्वाभाविक नै हो । तर, उक्त प्रविधिलाई समयमा आफूले सिक्नु बुद्धिमानी हो । हाल नेपाल सरकारलाई यो बेला अन्य विकल्प नरहेको कुरा साँचो हो । तर, अबको पाँच वर्षमा विकल्प बनाउनपर्छ र दस वर्षमा नेपालीले नै सुरुङ खन्न दक्ष हुनुपर्ने हुन्छ ।
४० वर्ष पहिले ५० हजारमा रंगीन टिभी किन्ने गरिन्थ्यो । जुन आजको समयमा करिब ५५ लाखभन्दा बढी हुन सक्छ । तर आज हामीले रंगीन टिभी ५५ लाखमा किन्दैनौं । किनकि प्रविधि सस्तो भएको छ । आज पनि हामी ५० हजारमै सबैभन्दा राम्रो टिभी किन्ने गर्छांै ।
वास्तवमै नेपालको भौगोलिक अवस्था हेरी देशको विकास गर्ने हो भने हामीलाई तराईभरि रेलको सञ्जाल र पहाडमा टनेलको बाटोघाटो हुनैपर्ने हुन्छ । तर, विडम्बना आज हामीसँग न तराईमा रेल छ, न त कुनै टनेल नै बनेको छ । त्यसकारण रेल र टनेल प्रविधि पनि हामीले भिœयाउनु हाम्रो आवश्यकता हो ।
(दुवाल इन्जिनियर र चन्द अर्थशास्त्री हुन् ।)कृष्णभक्त दुवाल-शेरजंगबहादुर चन्द