कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
609

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सचिवालय सदस्य संख्या बढाउन लिखित प्रस्ताव परेको छ ।
स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयमा २ महिला थपेर १५ सदस्यीय बनाउन माग गर्दै संयुक्त प्रस्ताव राखेका हुन् ।

उनीहरुले केन्द्रदेखि तल्ला तहसम्म उपाध्यक्ष पद राख्न र त्यसमध्ये एक महिला हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । ४५ सदस्य रहेको नेकपाको स्थायी कमिटीमा सोमबार १२ सदस्यले बालेका थिए । नेकपाले एक सदस्यलाई बैठकमा कुरा राख्न २० मिनेट समय छुट्याएको छ ।
आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ११ पृष्ठ लामो प्रतिवेदनबारे बैठकमा छलफल भइरहेको छ । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा केन्द्रीत रहेर स्थायी कमिटी सदस्यहरुले बोल्ने क्रम आज पनि जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेताहरुले एकसरो धारणा राखेपछि उठेका प्रश्नहरुको अध्यक्षले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित परिमार्जन हुनेछ । बैठकमा पार्टीका अर्का अध्यक्ष केपी ओली भने सहभागी छैनन् ।