मीनकुमार नवोदित
मंगलबार, पुष १, २०७६
293

विराटनगर-नेपाल रेल विभागले निर्माण हुने पूर्व–पश्चिम रेल्वे सेवाअन्तर्गत प्रदेश–१ का विभिन्न स्थानमा पर्न सक्ने वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको छ । झापा, मोरङ र सुनसरीलाई जोड्ने गरी विद्युतीय रेल सञ्चालन गर्ने गरी वातावरणीय प्रभाव मूल्यांकन तयार पारिएको हो ।
सुनसरीको इनरुवा–काँकडभिट्टा रेल्वे लाइन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी सुरु गरिएको छ । इनरुवा–काँकडभिट्टा खण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगर खण्ड २० दशमलव १६ किलोमिटर निर्माण गरिने प्रस्ताव गरिएको छ । ११ रेल्वे स्टेशनहरु मार्ग रेखामा प्रस्तावित छन् ।

१० स्टेशनहरु मुख्य लाइनमा र एउटा स्टेशन लिंक लाइनमा प्रस्तावित छन् । इनरुवा–काँकडभिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा ३ जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन् । रेल्वेको परामर्शको काम दोहा इन जेभी विथ केआरएनए, सोसुङ एण्ड सिल्ट इन एसोसिएसन विथ इआरएमसी एण्ड मेटेरियल टेष्ट गौशाला काठमाण्डौंले गरेको छ ।
परामर्शदाता संस्थाले विराटनगरमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ । रेल्वे परियोजनाका लागि ९० अर्ब २ करोड ८२ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रेल्वे सेवाले पूर्व–पश्चिम रेलमार्गमा पर्ने सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिका हँुदै अघि बढ्नेछ ।
त्यस्तै विराटनगर इटहरी लिंकले विराटनगर महानगरपालिका, बूढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकाका हुँदै अघि बढ्ने चित्रकारले बताए । झापामा दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकासम्म पुग्नेछ ।
प्रतिघण्टा २ सय किलोमिटरको गतिमा गुड्ने विद्युतीय रेलले झापा, मोरङ र सुनसरीको ५ सय १२ दशमलव ६९ हेक्टर खेतीयोग्य जमिनलाई प्रभाव पार्ने देखिएको छ । आयोजना निर्माणका क्रममा ५३ दशमलव ६१ प्रतिशत जल क्षेत्र र ३३ हेक्टर वस्तीमा प्रत्यक्ष प्रभाव पार्ने वातावरणीय विज्ञ रिकेश चित्रकारले बताए । उनले मेन लाइनका ३ सय ५७ र लिंक लाइनका १ सय ९३ भौतिक संरचनामा प्रत्यक्ष असर पुग्ने जनाए ।
इनरुवा–काँकडभिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक लाइनसहितको कार्यान्वयनले ६ सय ६६ संरचनाहरु प्रत्यक्ष प्रभावित हुने देखिएको छ । रेल्वे लाइन, तटबन्ध तथा अन्य सुविधाहरुको निर्माणका लागि करिब २ करोड ५१ लख ४३ हजार १ सय २८ घनमिटरको निर्माण सामग्री लाग्ने बताइएको छ ।
सुनसरी सदरमुकाम इनरुवाबाट सुरु हुने रेल्वे सेवा पूर्व–पश्चिम राजमार्गको करिब साढे २ किलोमिटर दक्षिण हुँदै काँकडभिट्टासम्म पुग्नेछ । काँकडभिट्टामा मेची नदीबाट २ किलोमिटरभित्र अन्तिम स्टेशन बन्ने उनले बताए । इनरुवादेखि काँडभिट्टासम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको उनले जनाए । इटहरी–विराटनगरमा हात्तीमुडामा स्टेसन बनाइनेछ ।
भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ । नेपाल सरकारले निर्माण गर्ने लिंक रेलवे भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ ।