कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४
927

डडेल्धुरा आलिताल गाउँपालिकामा एक दिने एकीकृत घुम्ती शिविरको आयोजना गरिएको छ ।
दुर्गम क्षेत्र र गरिबीका कारण जिल्ला सदरमुकामसम्म पुग्न नसक्ने स्थानीय बासिन्दाको घरदैलोमै गई जिल्लास्थित सरकारी कार्यालयबाट एकै स्थानमा विभिन्न किसिमका सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयोजनमा आलिताल गाउँपालिका–२ मा एकीकृत घुम्तीशिविर आयोजना गरिएको हो । एक दिने एकीकृत घुम्ती शिविरमा नागरिकता, स्वास्थ्य उपचार, अपांगता परिचयपत्र, आयुर्वेद स्वास्थ्य उपचार, बिउबिजन वितरणदेखि पशुको समेत उपचार गरिएको थियो ।
नेपाल सरकारको अवधारणाअनुसार नै दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई उनकै घरदैलोमा गई सहजरूपमा सेवा दिने उद्देश्यले आलिताल गाउँपालिका वडा नं २ को सहयोगमा एकीकृत घुम्तीशिविर आयोजना गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । आफ्नै गाउँघरमा एकै स्थानवाट सम्पूर्ण सेवा पाउँदा सेवाग्राहीले खुसी व्यक्त गरे । डडेल्धुराका जिल्ला प्रशासन, जिल्ला पशुसेवा कार्यालय, उपक्षेत्रीय अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, जिल्ला कृषि विकास कार्यालय, महिला विकास कार्यालय, जिल्लास्थित गरुड दल गण र आलिताल गाउँपालिका–२ ले एकीकृत घुम्तीशिविरमा आआफ्नो कार्यालयबाट दिइने सेवा दिएका थिए । शिविरमा स्थानीय बासिन्दाकोे उल्लेख्य सहभागिता थियो ।