कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
459

नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रूपमा स्थापना भई गत फागुन महिनाबाट औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइतबार प्रथमवार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्चतहका अधिकृतहरूको समेत उपस्थिति रहेको उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरू, चालू आवका लागि तय गरिएका योजना तथा लक्ष्यहरू एवं भावी रणनीतिबारे सेयरधनी महानुभावहरूलाई जानकारी गराए । चुक्तापुँजी १२ अर्ब रुपैयाँ, प्रतिसेयर आम्दानी ६.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.५७ रुपैयाँ रहेको बैंकको उक्त सभाले नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने गरी जम्मा ८ अर्ब रुपैयाँको सेयर संख्या ८ करोड सर्वसाधारणलाई निष्कासन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
नेपाल सरकारबाट मनोनीत १ जना सञ्चालक बाहेक संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अन्य ३ जना सञ्चालकको निर्वाचनको कार्यक्रम रहेको उक्त सभाबाट अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनीत सञ्चालक हुनुुहुन्छ ।