कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४
1127

नेपालको कानुनअनुसार जंगली जनावर मार्न पाइँदैन । कसैले मारिहाले कानुनअनुसार कारबाही भोग्नुपर्छ । तर, पछिल्लो समय जंगली जनावरबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ ।
वन्यजन्तुले खेतबारीमा लगाएको अन्न तथा नगदेबाली नष्ट गरिदिएपछि संखुवासभाका किसान चिन्तित भएका छन् । लगाएको बालीलाई मात्र सखाप पारेका छैनन्, जंगली जनावरको आक्रमणबाट बर्षेनी घाइते हुनेको संख्यासमेत बढ्दै गएको जिल्ला वन कार्यालय, मकालु बरुण राष्ट्रिय निकुञ्ज र जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्ष मात्र भालुको आक्रमणबाट संखुवासभामा २ जना गम्भीर घाइते भएका थिए । बाघ, भालु, बाँदर, दुम्सी, मृगस्ता जंगली जनावरले बारीमा लगाएको अन्न तथा नगदेबाली नष्ट गर्ने गरेको कृषकको गुनासो छ ।

अन्नबालीलाई बन्यजन्तुले नष्ट गरेपछि कागती, सुन्तला, अलैंची, अदुवा, बेसार जस्ता वैकल्पिक नगदेबाली लगाइए पनि बन्यजन्तुको आतंकबाट आफूहरू हैरान भएको कृषकहरू बताउँछन् । परिवारले वर्ष दिन खाने अन्नपात जंगली जनावरले सखाप पार्ने गरेको भन्दै पाँचखपन–७ का भगवती खत्रीले सरकारी निकायमा उजुरी दिएको वर्षाैं बित्यो । उनले ६ रोपनीमा लगाएको अलैंची दुम्सी र बाँदरले नष्ट गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय संखुवासभामा निवेदन दिएकी थिइन् । तर कुनै सुनुवाइ नभएको गुनासो उनले गरिन् । “मारे कानुन लाग्छ, नमारे आफूहरूको गुनासोको सुनुवाइ नै हुँदैन, अब के खाएर बस्ने भन्नेमा चिन्तित भएका छौं,” उनले भनिन्, “वन्यजन्तु नियन्त्रणका लागि सरकारले नै प्रभावकारी कदम चालिदिनुपर्यो ।” उनले खेतबारीमा जे लगाए पनि वन्यजन्तुले सखाप पार्ने गरेको गुनासो गरिन् ।
पहिले–पहिले वन्यजन्तु तर्साएर वा मारेर बालीनाली जगाउने गरिएको भए पनि पछिल्लो समय मार्न नपाएकाले वन्यजन्तुको आतंक सहेर बस्नुको विकल्प नभएको चैनपुर नगरपालिका खराङका कृषक घननाथ त्रितालले बताए ।
वन्यजन्तुले अन्नबाली नष्ट गरेको भन्दै थुप्रै कृषकले क्षतिपूर्तिको माग गर्दै जिल्ला कृषि कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी निकायमा निवेदन दिएका छन् । निवेदन दिए पनि अहिलेसम्म कहीँ कतैबाट क्षतिपूर्ति र सुनुवाइ नभएको कृषकहरूको गुनासो छ । खाँदबारी नगरपालिका–३ का १०६ जना कृषकले बन्यजन्तुबाट आफूहरूपीडित भएको भन्दै क्षतिपूर्तिको मागसहित जिल्ला कृषि विकास कार्यालय संखुवासभामा निवेदन बुझाएका थिए । उनीहरूले बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुले अलैंची, केराबारी र अन्नबालीमा क्षति पु¥याएको भन्दै जिल्ला प्रशासन कार्यालयको सिफारिस र मुचुल्कासहित कृषि विकास कार्यालयमा क्षतिपूर्तिका लागि आवेदन बुझाए पनि अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको खाँदबारी–३ का बन्यजन्तु पीडित राजकुमार पराजुलीको भनाइ छ ।
त्यस्तै, सुन्तला र रुद्राक्ष बाँदरले नष्ट गरेको भन्दै पाँचखपन नगरपालिका प्रहरी चौकीले उठाएको मुचुल्काअनुसार ४ लाख ११ हजार रुपैयाँको क्षतिको राहत माग्दै निवेदन पेस गरे पनि केही नपाएको पाँचखपन नगरपालिका–७ का भगवती खत्री अधिकारीले बताइन् ।
यस वर्ष मात्र जिल्ला कृषि विकास कार्यालयमा वन्यजन्तुले पु¥याएको क्षतिका विषयमा ७ वटा उजुरी दर्ता भएका छन् । किसानका उजुरी र गुनासा आउने गरे पनि हालसम्म राहत र क्षतिपूर्ति दिन नसकिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रविलाल शर्माले बताए । कृषि विकास कार्यालयबाट उजुरी तथा निवेदन संकलन गरेर क्षेत्रिय कृषि निर्देशनालय विराटनगर पठाइने गरिए पनि कुनै सुनुवाई नहुँदा कृषकको गुनासो गुनासोमै सिमित रहेको शर्माको भनाई छ । त्यहाँबाट प्राप्त भए मात्र क्षतिपूर्ति दिलाउन सकिने उनले बताए ।
मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहले वन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए । उनले भालु, हात्ती, गैंडा जस्ता ठूला वन्यजन्तुले बालीमा क्षति पुराएवापत कृषकले क्षतिपूर्ति पाउने व्यवस्था रहे पनि पहाडी भेगका साना जंगली जनावरले पुरायाएको क्षतिमा कुनै राहत वितरण नगर्ने नीति रहेको जानकारी दिए ।

-कृष्णराज शाक्य