मनिषा चम्लागाईँ
सोमवार, मंसिर १६, २०७६
444

झापाको गौरादह नगरपालिकामा भित्र १२ विघा क्षेत्रफलमा ४ वटा ठूला र केही साना पोखरी छन् । गौरादहका उक्त ऐतिहासिक पोखरीको प्रबद्र्धन गरी प्रचार गर्न सके आन्तरिक मात्र नभएर बाह्य पर्यटकसमेत गौरादह पुग्ने देखिन्छ ।
पर्यटन वर्ष २०२० सुरु हुन लागेको छ । मुलुकभर १ वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य राखिएको छ । तर, पर्यटन वर्ष सुरु हुन केही महिना मात्र बाँकी रहँदासमेत पोखरीको संरक्षण, पूर्वधार विकास र प्रचारप्रसार हुन सकेको छैन । गौरादहमा रहेका पोखरीबारे जिल्लाकै नागरीक जानकार छैनन् । झापाको मेचीनगर नगरपालिकाका पदम निरौला गौरादहका ऐतिहासिक पोखरीको विषयमा अनविज्ञ छन् । आफ्नै जिल्लामा यति धेरै क्षेत्रफलमा पोखरी रहेको विषयमा केही पनि थाहा नभएको निरौला बताउँछन् । “हामी घुम्नका लागि धेरै टाढा पुग्छौँ आफ्नै ठाउँमा यति धेरै सम्भावना बोकेको पर्यटकीय क्षेत्र छ भन्ने मलाई थाहा नै थिएन” निरौलाले भने । उक्त पोखरी प्रदेश– १कै सबै भन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी रहेको स्थानीयको दाबी छ । पोखरीको प्रवद्र्धनका लागि पूर्व सभासद दिपक कार्कीको संयोजकमा गौरादह पोखरी पर्यटन विकास समितिको निर्माण भएको छ ।

स्थानीयले गत वर्ष नै गौरादह नगरपालिका भित्र रहेका पोखरीको प्रबद्र्धन गरी गौरादहलाई पर्यटकीय नगरी बनाउने योजना भने नबनाएका होइनन् । पोखरी प्रबद्र्धनका लागि गत वर्ष नै डिपिआर तयार भए पनि उक्त डिपिआर कृत्तिम भएकाले यस वर्ष पोखरीको प्राकृतिक अवस्थासँग मिल्दो डिपिआर तयार गर्ने निर्णय भएको भण्डारीले बताए । तर, ३ वर्ष अघिदेखि सुरु गरिएको घोराबारा भने सकिएको छ । प्रदेशबाट प्राप्त बजेटले उक्त घेराबार गरिएको हो । विगतमा स्थानीय निकायमा कम बजेट आउने कारणले संघीय र प्रदेश सरकारको सहयोगमा पोखरीको प्रबद्र्धन सुरु गरिएको गौरादह नगरपालिका –१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । पोखरीको प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटले सबै पोखरीलाई एउट वा दुईवटासम्म बनाउने, पोखरी आसपास मन्दिर निर्माण गर्ने, आकाशे पुल बनाउने, पार्क बनाउने, बोटिङ्को व्यवस्था गर्ने, यस क्षेत्रमा आदि कालदेखि रहेका जातजातीको प्रतिविम्व निर्माण, सभाहलको निर्माण, हेमस्टे निर्माण गर्ने योजना बनाएको वडाध्यक्ष भण्डारीले बताउँछन् ।
गौरादहमा गौरी गाई
पछिल्लो समय गौरादह बजार भने आर्कषक बनेको छ । बजारको मुख्य चोकमा बनाईएका गौरीगाई बजारको आर्कणका रुपमा रहेका छन् । बजार व्यवस्थापनमा नगरपालिकाले ३० लाख रुपैयाँ र प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि बजार व्यवस्थापन सुरु गरिएको थियो । केही वर्ष अघिसम्म धुलैधुलो रहेन गौरादह अहिले जिल्ला कै एक व्यवस्थित बजारमा पर्छ । हाटबजारमा व्यवस्थित टहरा निर्माणको जिम्मा गौरादह बजार व्यवस्थपन तथा उपभोक्ता समितिलाई दिइएको थियो । टहरा निर्माणसँगै बजारको बीच भागमा रहेको दुर्गा मन्दिर निर्माण गरिएको छ । बजार क्षेत्रका सडकको दुवै तर्फ किनारमा विरुवा रोपिएको छ । बजार परिषरमा सोलार बत्ति र सीसीक्यामरा जडान गरिएको छ ।
कसरी रह्यो गौरादह नाम ?
पोखरी रहेको ठाँउमा प्राचिनकालमा खाल्डा रहेको र पूर्खाहरुले खाल्डामा गौरीगाई चराउने गरेको जानकारहरु सुनाउँछन् । स्थानीय स्व.नरबहादुर बस्नेतले पोखरी व्यवस्थापन गरेको स्थानीय जय संग्रौलाले बताए । प्राचिन कालमा पोखरी नै पोखरी भएकाले त्यस क्षेत्रको नाम गौरादह राखिएको किम्बदन्ती छ । पोखरीमा पार्क निर्माण गर्न सक्दा गौरादह नगरपालिकाले वार्षिक थप ४० लाखसम्म आम्दानी गर्न सक्ने संभावना रहेको जानकारहरु बताउँछन् । विगतमा नगरपालिकाले स्थानीय विद्यालयलाई पोखरी उपभोग गर्न दिएको थियो ।
दमक नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको मध्यभागमा रहेको गौरादह पूर्व पश्चिम राजमार्गको पाडाजुगी सडकखण्डबाट १० किलोमिटर दक्षिणमा पर्छ । गौरादह पछिल्लो समय व्यापारिक दृष्लिे परिचत छ । साविकका जुरोपानी, महारानीझोडा, कोहवरा, बैगुनधुरा र गौरादह गाविस गाभिएर गौरादह नगरपालिका बनेको हो । नगरपालिका क्षेत्र र साविकका गौरीगञ्ज, खजुरगाछी, कोरोबारी गाविसका स्थानीय पनि किनमेलका लागि गौरादह आउने गरेका छन् । २०७२ असोज १ गते नगरपालिका घोषणा भएसँगै सो क्षेत्रको विकासलेसमेत गति लिएको छ ।