कारोबार संवाददाता
सोमवार, मंसिर १६, २०७६
458

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसारको जिम्मेवारी पूरा गर्न नसके पद त्यागेर सहज वातावरण निर्माण गर्न मातहत निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको २०७६-७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले आफूसँग् गरिएको कार्यसम्पादन सम्झौता अनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनीसमेत दिए । ‘मैले प्रधानमन्त्रीज्यूसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँग गर्नुभएको छ । त्यस्तै सचिवज्यूसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गर्नुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्याङकन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं ।’ मन्त्री पुनले बैठकमा भने ।

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहिअनुसार काम गर्न पनि निर्देशन पनि दिए । ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन् यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन । यसलाई गम्भिरतापूर्वक लिनुहोस्’उनले भने ।
उनले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्न समेत चेतावनी दिए । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भिर भएर काम गर्न र फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनले निर्देशन दिए । ‘तपाईहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव, महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुप-यो, आफै फिल्डमा गएर भएपनि समस्याको समाधान गर्नुप-यो । अहिले पनि अरुलाई मात्र दोष दिएर उम्कने काम राम्रो होइन’ मन्त्री पुनले भने ।