कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४
1265

वारिपारि पुरै चट्टानैचट्टान बीचमा बगिरहेकी छन् बूढीगंगा । चट्टानमाथि रहेको छ मनागाउँ । यो बस्तीमा २०४ घरधुरी बसोबास गर्छन् । गाउँको छेवैबाट सुरु हुने चट्टानी भीरको बाटो । बाटोको सीधै तल पारिपट्टि बाजुरा सडकसँग जोडिएको तिपाडा बजार छ  । बाजुराको तिपाडादेखि मनागाउँलाई जोड्ने रोपवे निर्माण गरिएको छ । यो जिल्लाकै पहिलो रोपवे हो ।
गाउँमा उत्पादित वस्तु बजार पुराउन र बजारबाट उपभोग्य सामग्री गाउँ लैजान त्यही भीरको जोखिमपूर्ण बाटोमा गर्भवती र सुत्केरी महिलाले समेत भारी बोकेर ५ घण्टाको ठाडै उकालो ओहोरदोहार गर्नैपर्ने अवस्था थियो । पुस्तांैदेखिको असहज अवस्था गाउँमा स्थापना गरिएको ग्राभिटी रोपवेले अन्त्य गरिदिएपछि बाजुराको बडिमालिका नगरपालिका–६ मनागाउँका महिलाको जीवनमा सहजता भएको छ ।

मनागाउँ बडिमालिका नगरपालिका भौगोलिक रूपमा सबैभन्दा विकट छ । मनागाउँ आलुखेती र बाख्रापालनका लागि उर्वरभूमि मानिन्छ । बडिमालिकासँगै जोडिएको यो बस्तीका स्थानीयको दैनिकी जडिबुडी संकलनमा बढी जान्छ । तर गाउँमा उत्पादित जडिबुटी र कृषि उपजलाई बजार पु¥याउन र बजारबाट दैनिक उपभोग्य सामग्री ल्याउन भने भीरको असजिलो बाटो निक्कै कष्ट थियो । “रोपवेले हाम्रो दैनिकी सहज बनाइदिएको छ,” रोपवे सञ्चालन समिति सचिव प्रेम साउदले भने, “भारी बोकेर भीरको बोटोमा भारी बोकेरआउने जानेक्रममा कैयौंको अकालमै मृत्यु भएको थियो । ग्रामीण रोपवे सञ्चालन पछि त्यो जोखिमपूर्ण यात्रा हटेको छ ।
रोपवे सञ्चालन हुँदा सबैभन्दा बढी सजिलो मनागाउँका महिलालाई भएको छ । गाउँका पुरुष भारतमा काम गर्न जाने भएकाले महिलाले खाद्यान्न विकास निमार्णका सामान ओसारपोसार गर्नुपर्ने हुन्छ । “गर्भवती र सुत्केरीलाई भारी बोक्न निक्कै सास्ती हुन्थ्यो, स्वास्थ्य स्वयंसेविका सीता थापाले भनिन् । पहिला भीरको बाटो बोकेर लगेको सामान गाउँ पुराउँदा प्रतिक्विन्टल १ हजार भाडा लाग्थ्यो । रोपवे निर्माणपछि २ सयमै सामान ओसारपोसार हुन थालेको स्थानीय लालबहादुर साउदले बताए । साँफे–मार्तडी सडक खण्डमा पर्ने तिपाडादेखि मनागाउँसम्म ९ सय ८ मिटर लम्बाइको रोपवे जिल्लामै पहिलोपटक निर्माण गरिएको हो । रोपवेबाट ९० किलो निर्यात गर्न सकिन्छ भने ४० किलो सामान आयात ढुवानी गर्न मिल्छ ।
जिल्ला कृषि विकासको संयोजन, प्राक्टिकल एक्सनको आर्थिक सहयोग तथा एचआरसी बाजुराको साझेदारीमा रोपवे निर्माण गर्न करिब २७ लाख खर्च भएको एचआरसीका विकास परियोजना अधिकृत अग्निराज शाहीले बताए । “रोपवे निर्माणपछि कृषि विकासमार्फत हाल नगरपालिकाको कार्यालयले यस गाउँलाई आलुको पकेट क्षेत्र विकासको योजनाअघि सारेको छ,” शाहीले भने ।

-पदम सिंह