कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
301

भोजपुरमा गौरवको आयोजना तेस्रो साना सहरी खानेपानी योजनाको काम तीव्र गतिमा अघि भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ५ प्रतिशत गरी कुल ४९ करोड, ७९ लाख ९८ हजारमा योजना सम्पन्न गर्ने गरी साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्र रूपमा सुरु गरिएको हो । बर्सेनि भोजपुर सदरमुकाममा खानेपानीको समस्या बढ्दै गएका बेला आयोजनाले काम सुरु गरेपछि भोजपुर नगरपालिकाबासी हर्षित बनेका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका भोजपुरवासीले पानीको समस्या समाधान भई प्रशोधित पानी पिउन पाउने भएपछि खुसी व्यक्त गर्न थालेका छन् ।
आयोजनाले भोजपुर नगरपालिका क्षेत्रका वडा नं ५, ६, ७, ८, ९ र १२ वडाका दुई हजार दुई सय ८० घर लाभान्वित हुने सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अध्यक्ष प्रविनकुमार सुवालले जानकारी दिए । भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले आयोजना निर्धारित समयमा सम्पन्न गर्न आग्रह गरेका छन् । उनले आयोजनाको कामको गुणस्तरमा ध्यान दिएर काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् । उनले आयोजनाको कामका शिलशिलामा कुनै समस्या आए सहयोग गर्न तत्पर रहेको बताउँदै योजना सम्पन्न गर्न सबैले सहयोग गर्न पनि आग्रह गरेका छन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष प्रविण सुवालका अनुसार आयोजनाको प्रसारणलाइन ३६ किलोमिटर, वितरण लाइन ७६ किलोमिटर गरी जम्मा लाइन ११३ किलोमिटर हुनेछ । सुवालले भने “हामीले करिब एक करोड २२ लाख जति रकम ठेकेदारलाई मोबिलाइजेसन खर्च भुक्तानी गरिसकेका छौं ।” टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको तीनभंगालेबाट पानी सदरमुकाम ल्याउने जनाइएको छ । आयोजनाको दुई वर्षभित्र सम्पन्न गर्ने गरी हुवासुई कन्काई जेभीले जिम्मा लिएको छ । कुनै पनि बाधा अवरोध नआए समयभित्र नै सम्पन्न गरी सदरमुकामसम्म पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
ठेकेदार जनसेवक भण्डारीले भने, “सम्पूर्ण तयारीका साथ कामको थालनी गरेका छांै आकस्मिक रूपमा कुनै अवरोध आएन भने निर्धारित समयमा सम्पन्न गर्छांै ।” कामलाई, गुणस्तरीय र प्रभावकारी ढंगले समयमै सम्पन्न गर्नुपर्ने स्थानीयको भनाइ छ ।
स्थानीय सम्मरबहादुर मोक्तानले भने, “विगतमा अन्योल थियो, काम अगाडि बढेपछि पानी आउनेमा हामी ढुक्क छौं, यसले पानीको समस्या समाधान हुने आशा गरेका छांै ।” उपभोक्तालाई पानी वितरण गर्नका लागि दुईवटा प्रशोधन ट्यांकी, ६ वटा इन्टेक र १० वटा पानीपोखरी निर्माण गरिने जानकारी दिएको छ । आयोजनाको निर्माण सम्झौता २०७५ चैत १७ गते काठमाडौंमा सम्पन्न भएको थियो । तेस्रो साना सहरी खानेपानी योजना भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाशकुमार आलेले शिलान्यास गरेका थिए ।