कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
250

नेपाल निर्माण व्यवसायी महासंघले सिन्धुलीको दूधौली नगरपालिका–१३ अरुणठाकुरमा सडक निर्माणमा प्रयोग भइरहेको निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गरी व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत यस्ता घटना दोहोरिनु चिन्ताको विषय भएको जनाएको छ ।

‘विविध चुनौतिका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी भएको यस किसिमको आततायी घटनाको महासंघ कडा शब्दमा निन्दा गर्दछ’, महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै देशभरका निर्माण व्यवसायीसहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।
व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले आफूहरुमाथि भएको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।